हेटौँडा ः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हेटौंडा स्थित वन विज्ञान क्याम्पसको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री लामाले बिहिबार हेटौंडा–१० स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) वन संकायअन्तर्गतको वन विज्ञान क्याम्पस र त्रिभूवन विश्वविद्यालय (त्रिवि) को वन विज्ञान अध्ययन संस्थानअन्तर्गतको हेटौंडा क्याम्पसको निरीक्षण गर्नुभएको हो ।

मुख्यमन्त्री लामाले दुई क्याम्पसको भौतिक संरचना, शिक्षाको गुणस्तर, प्रयोगशाला तथा संग्राहालय र विद्यार्थीका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा दुई क्याम्पस बीचको विवादको विषयमा पनि मुख्यमन्त्री लामालाई जानकारी गराइएको थियो । निरीक्षणका क्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन संकायका डीन डा. बासुदेव पोखरेलले एएफयू तर्फको शैक्षिक तथा प्राज्ञिक र संरचनाको अवस्था बारे जानकारी गराउनुभएको थियो । उहाँले हाल विश्वविद्यालय अन्तर्गत प्रयोगशाला, नर्सरी तथा भौतिक संरचनाको अभाव रहेको जानकारी गराउनुभयो । उहाँले प्रयोगशाला, नर्सरी, भौतिक संरचना तथा छात्रावास निर्माणका लागि स्रोत व्यवस्थापन गर्न आवश्यक पहल गरीदिन आग्रह समेत गर्नुभयो ।

यता त्रिवितर्फको वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख डा. शिव कुमार माञ्जनले छात्रावास तथा भौतिक संरचना र बसका लागि स्रोत व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । क्याम्पसमा बस नहुँदा विद्यार्थीहरुको शैक्षिक कार्यक्रम अन्तर्गतका विभिन्न अध्ययन अनुगमन कार्य गर्न गठिन भएको उहाँले जानकारी गराउनुभयो । निरीक्षण पश्चात मुख्यमन्त्री लामाले शैक्षिक संस्थाहरु बीचको जग्गा स्वामित्व विवाद लम्ब्याउन नहुने बताउनुभयो । शैक्षिक गुणस्तर कायम गर्न देखिएका समस्या र चुनौतिहरु छलफलबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । उक्त विषय संघीय सरकार अन्तर्गतको रहेकाले सो बारेमा आवश्यक पहल गर्ने आश्वासन समेत मुख्यमन्त्री लामाले दिनुभयो ।

मुख्यमन्त्री लामाले शिक्षा विकास र समृद्धिको मेरुदण्ड रहेकाले राज्यले आफ्नो लगानी त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो । प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेकाले शैक्षिक संस्थाहरुले त्यसतर्फ केन्द्रित हुनुपर्ने समय आएको उहाँको भनाई छ । वर्तमान शिक्षाको मोडललाई व्यावहारिक र व्यावसायिक बनाउन प्राविधिक शिक्षामा जोड दिन जरुरी रहेको उहाँले औँल्याउनुभयो । वन विज्ञान क्याम्पसलाई शैक्षिक पर्यटनको हवको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । क्याम्पस भित्रको वन जंगल र जीवजन्तुलाई संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउनु पर्ने उहाँको भनाई छ । सरकारको लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी राजस्व संकलनका विभिन्न क्षेत्रहरु तयार गर्नेगरी उक्त क्याम्पसलाई अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । क्याम्पसको क्षमता तथा व्यवस्थापनका विषयमा आवश्यक सहयोग तथा पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।