मनहरीमा स्थानीयले राजमार्ग अवरोध गर्दै । तस्वीर: पत्रकार शिवकुमार काशीको फेसबुक वालबाट साभार ।

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस र म्याजिक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजेर १५ मिनेटको समयमा दुर्घटनामा परी म्याजिक चालक राक्सिराङ गाउँपालिका–४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कोइरालाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । म्याजिक चालकको मृत्यु भएपछि स्थानीयले मनहरीमा राजमार्ग अवरुद्ध गरेका छन् । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२ नम्बरको म्याजिक गाडी एक आपसमा ठोक्किर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।