हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका र बाल हेल्पलाइन मकवानपुरको संयुक्त आयोजनामा बिहीबार दुई बालगृहको अनुगमन गरिएको छ । हेटौंडा–१६ स्थित आशा नेपाल र हेटौंडा–१८ स्थित बाल सुरक्षा गृहको अनुगमन गरिएको हो ।
अनुगमन गरिएको आशा नेपाल अनुमतिबिना सञ्चालनमा रहेको पाइएको हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो । आशा नेपालमा १५ र बाल सुरक्षा गृहमा १७ बालबालिका रहेको उहाँले बताउनुभयो । अनुमतिबिना सञ्चालनमा रहेको बालगृहलाई दर्ताका लागि आग्रह गरिएको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि, बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवाली, बालअधिकार समिति सदस्य बिना थिङ, महिला बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख लामिछानेलगायतको टोलीले अनुगमन गरेको थियो ।