हेटौंंडाः हेटौंडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्ष तथा हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
१ हजार २ सय ३ शेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०८०/८१ सम्म १ करोड ६० लाख ५४ हजार रुपैयाँ शेयरपुँजी छ । संस्थाले ९ करोड ८० लाख ६६ हजार ७५२ रुपैयाँको कारोबार गरेको छ भने जगेडा कोष ९८ लाख ६ हजार ४८६ रुपैयाँ रहेको छ । सहकारीले सदस्यलाई पाँच करोड ३२ लाख १८ हजार ५ सय ८२ रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीमा ५ करोड ५५ लाख ४० हजार ४ सय ५५ रुपैयाँ बचत निक्षेप रहेको जनाएको छ ।
सहकारीले साधारणसभाको अवसरमा जेष्ठ सदस्यतर्फ गौरीप्रसाद उपाध्याय र लक्ष्मीदेवी शाक्य, असल ऋणीतर्फ सत्यमान श्रेष्ठ र श्रृजना श्रेष्ठलाई सम्मान गरेको छ । यस्तै, नियमित बचततर्फ रमेशमोहन अधिकारी र एककुमारी भुजेललाई सम्मान गरिएको छ भने एसईईमा उत्कृष्ट अंक ल्याउने एलिजा बन्जारा, प्रतिष्ठा कार्की र सुदीन दाहाललाई पुरस्कृत गरिएको छ ।
सहकारीले कर्मचारीतर्फ वरिष्ठ सहायक राममाया गुरुङ र बजार प्रतिनिधि सावित्रीकुमारी नेपाल तथा प्रष्टखबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटीलाई नगदसहित सम्मान गरेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य हिमाल पौडेल र नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्रप्रसाद पौडेल, युसेस साकोसका उपाध्यक्ष हयग्रीव आचार्यलगायतको आतिथ्य रहेको थियो ।