हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि घरबहाल दर तथा व्यवसायको कर तथा राजश्वको दरमा वृद्धि गरेपछि व्यवसायी आन्दोलित भएका छन् । उपमहानगरपालिकाले व्यवसायीसँग पर्याप्त छलफलबिना कर तथा राजश्वको दरमा २६३ प्रतिशतसम्म वृद्धि गरेपछि त्यसको बिरोध हुँदै आएको छ । कोभिड–१९ को समयदेखि नै सुस्ताएको व्यापार व्यवसायमा मन्दी कायमै रहेको अवस्थामा व्यवसायीलाई मर्का पर्ने गरी करवृद्धि गरेको भन्दै व्यवसायीले उक्त निर्णय फिर्ता लिन आग्रह गरेका थिए । व्यवसायीको आग्रहबमोजिम उपमहानगरपालिकाले कार्यपालिका बैठकमा करवृद्धिको विषयमा छलफल गरे पनि करवृद्धिको निर्णय यथावत राखेपछि व्यवसायी आन्दोलित भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीले पहिलो चरणको आन्दोलन गरिरहेका छन् ।

व्यवसायीको आन्दोलनप्रति विभिन्न राजनीतिक दलहरुले ऐक्यवद्धता जनाएका छन् । व्यवसायीको पहिलो चरणको आन्दोलन सुरु गरेको चौथो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपा, माओवादी र काँग्रेसले आन्दोलनप्रति समर्थन जनाएको हो । यसअघि नेकपा एमाले सम्वद्ध बहुमत नगरसभा सदस्यहरुले बुधबार नै विशेष नगरसभा माग गर्दै निवेदन दर्ता गराएको छ । वृद्धि गरेको करको विषयमा कार्यपालिका बैठकमा थप निर्णय हुन नसकेपछि उपमहानगरपालिकालको बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गरेका हुन् । कर तथा राजश्वको दर वृद्धिसम्बन्धी व्यवस्था संशोधन गर्न आवश्यक देखिएको भन्दै नेकपा एमाले सम्वद्ध नगरसभा सदस्यहरुले विशेष नगरसभा माग गर्दै उपमहानगरपालिकामा निवेदन दर्ता गराएका हुन् । ४८ जना नगरसभा सदस्यको हस्ताक्षरसहित विशेष नगरसभा बोलाउन निवेदन दिइएको छ ।

उपमहानगरपालिकाले वृद्धि गरेको कर तथा राजश्वप्रति नगरका व्यवसायी एवम् नगरबासीले विरोध गरेर आन्दोलन गर्ने अवस्था आउन दिनु हुँदैनथ्यो । उपमहानगरको नेतृत्वले व्यवसायीसँग वार्ता तथा छलफल गरेर समस्या समाधान गर्न सक्नुपथ्र्यो । व्यवसायीले सुरु गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत् बुधबार र बिहीबार उपमहानगरपालिकामा धर्ना दिएका छन् । आज शुक्रबार बिहान व्यवसायीले आफ्ना पसल, व्यवसाय बन्द गरेर हेटौंडा उपमहानगरपालिकालाई चाबी बुझाउने कार्यक्रम रहेको छ । व्यवसायीको आन्दोलनप्रति चौतर्फी समर्थन भइरहेको र नगरसभाका बहुमत सदस्यले विशेष नगरसभा बोलाउन माग गरेपछि बल्ल हेटौंडा उपमहानगरपालिकाले व्यवसायीसँग वार्ता गर्ने चासो देखाएको छ । उपमहानगरपालिकाले शुक्रबार बिहान ८ बजेका लागि वार्ता आह्वान गर्दै मकवानपुर उद्योग वाणिज्य संघलाई पत्र पठाएको छ । घोषित पहिलो चरणको घोषित आन्दोलनको कार्यक्रम सम्पन्न गरेर शुक्रबार दिउँसो २ बजे वार्ता गर्ने तय हुनुलाई सकारात्मक मान्नुपर्छ ।

अहिले अर्थतन्त्रमा आएको मन्दीले व्यवसायी प्रभावित भएका छन् । व्यवसायीलाई ऋणको साँवा–व्याज भुक्तानीको चाप पनि उत्तिकै छ । व्यवसायले गर्दै आएको कारोबारमा समेत कमी आइरहेको अवस्थामा कर तथा राजश्वको दरमा भएको व्यापक वृद्धिको विरोध हुनु स्वभाविक हो । जनताको घरदैलोको सरकार भनेर मानिएको स्थानीय सरकारले व्यवसायीले सुविधा तथा सहुलियत दिनुपर्नेमा करको दर र दायरा बढाउँदा नकारात्मक सन्देश गएको छ । कतिपय व्यवसायले उपमहानगरपालिकालाई तिर्ने राजश्वको दर निकै वृद्धि गरिएको छ । घरभाडाको आधारदर पनि उल्लेख्य बढाइएको छ । एकीकृत सम्पत्ति कर, विज्ञापन करलगायतमा समेत वृद्धि गरिएको अवस्थामा उपमहानगरपालिका र व्यवसायीबीच सार्थक छलफल तथा वार्ताबाट समस्याको समाधान निकाल्नु आवश्यक छ । वार्तामा सहभागीहरुले आ–आफ्नो पक्षबाट हदैसम्मको लचतकता अपनाएर करवृद्धि विवादको समाधान गर्दै आन्दोलन अन्त्य गर्नु उचित हुनेछ ।