शुक्रबार रातिबाट देशका विभिन्न भागमा परेको पानीले धेरैतिरको जनजीवन प्रभावित पारेको छ । निरन्तर परेको वर्षाका कारण खोला, नदीहरुमा बाढी आएको छ । पहाडी क्षेत्रमा गएको पहिरो र तराई क्षेत्रमा भएको डुबानले जनजीवन प्रभावित बनाएको छ । बाढी, पहिरो तथा डुबानबाट धनजनको क्षति भएको छ । बाढी तथा पहिरोले धेरै सडक सञ्जालमा अवरोध पुगेको छ भने केही पुलहरुमा क्षति भएको छ । गृह मन्त्रालयको नेपाल विपद जोखिम पोर्टलका अनुसार शुक्रबारदेखि आइतबारसम्म बाढी, पहिरोजस्ता एक सय ९५ वटा प्रकोपका घटना भएका छन् । तीन दिनमा प्रकोपका कारण १६ जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता छन् । घटनामा ३२ जना घाइते भएका छन् । ४ सय परिवार प्रभावित भएको छ ।

शुक्रबार रातिदेखि परेको पानीले काठमाडौं उपत्यकासहित पूर्वी, मध्ये र पश्चिम नेपालका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । निरन्तरको वर्षाका कारण साना–ठूला सबै नदी, खोला र खहरेमा आएको बाढीले त्रसित बनाएको छ । गाउँ, शहर र बस्तीमा बाढी पसेपछि त्रास फैलिएको । बाढीका कारण केही क्षेत्रका बस्ती डुबानमा परेका छन् । वर्षाका कारण शनिबार दिनभर धेरै सडकमा सवारी आवागमन रोकिएको थियो । ठाउँठाउँमा खसेको पहिरो तथा खोलाहरुमा आएका बाढीले अवरुद्ध भएका कतिपय सडक सञ्चालनमा आएका भए पनि केही सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् । मौसम पूर्वानुमान महाशाखाले आज सोमबारसम्म भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन सूचना जारी गरेको छ । शुक्रबार रातिदेखि परेको पानीले हेटौंडा तथा मकवानपुर जिल्लामा पनि जनजीवन प्रभावित बनाएको छ । हेटौंडा उपमहानगर पालिकाको वडा नम्बर ५ का धेरै घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाका १९१ घर प्रभावित भएको जनाएको छ । वर्षाका कारण कान्ति लोकपथ, त्रिभुवन राजपथको बागझोरा, भैंसे–भीमफेदी सडक, कुलेखानीबाट सिस्नेरी–दक्षिणकाली, चखेल–मातातीर्थ, फाखेल–फर्पिङ सडक पनि दिनभरजस्तो अवरुद्ध भएको थियो ।

वर्षाको समयमा मनसुनी प्रभावका कारण वर्षेनि बाढी, पहिरो, डुबान र नदी कटानका समस्या देखिन्छ । भौगोलिक वनावटका कारण पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी तथा डुबानबाट धेरै क्षति हुने गरेको छ । पछिल्लो समय पहाडी क्षेत्रमा जथाभावी खनिएका ग्रामीण सडकका कारण पनि पहिरोको जोखिम बढ्दै गएको छ । खोला, नदीहरुको जथभावी दोहन र अतिक्रमणले बाढी, कटान तथा डुबानको समस्या बढाएको छ । अव्यस्थित खनिज पदार्थ उत्खनन् र वन विनाश प्राकृतिक प्रकोपको अर्को कारण बनिरहेको छ । यस्तै, खोला, नदी तथा खहरे अतिक्रमण गर्दा बाढी, कटान र डुबानको समस्या व्यापक बनिरहेको छ । काठमाडौं उपत्यकाको नदी किनारका बस्ती र हेटौंडाको पिप्ले, शान्तिनगर क्षेत्र डुबानमा परेको खोला तथा नदी अतिक्रमण गरिएकैले हो ।

प्राकृतिक प्रकोपका कारण विपद्जन्य घटना बढ्दै गएका छन् । वर्षाको समयमा यस्ता विपद्का घटना बढी हुने गरेको छ । विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सरकारले आवश्यक पूर्वतयारी गर्ने गरेको भए पनि आशातित प्रभावकारी बन्न सकिरहेको छैन । प्रकोपको सम्भावित स्थानहरुमा पूर्वसतर्कता र विशेष सुरक्षाको व्यवस्थामा सरकारले थप सक्रियता देखाउनु आवश्यक बनेको छ । विपद्को समयमा जनधनको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्छ । यसका लागि सरकारले आवश्यक स्रोतसाधन परिचालन गर्नुपर्छ । यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएका कारण पनि बाढी, पहिरो, डुबान र कटानको समस्या बढ्ने सम्भावना रहेको छ । जोखिमयुक्त स्थानहरुमा पूर्वसतर्कता अपनाउन र बाढी तथा डुबानमा परेकाहरुको उद्दार, राहत तथा पुनस्थापनाका कार्यमा तीनै तहको सरकारले आवश्यक तयारी गर्नुपर्छ ।