हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविका विद्यार्थी परीक्षामा सहभागी हुँदै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार आज आईतबारदेखि सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । हेटौँडा उपमहानगरभित्र रहेका ७३ वटा विद्यालयमध्ये ५६ वटा विद्यालयमा परीक्षा सञ्चालन भएको हो ।

परीक्षामा १ कक्षादेखि १० कक्षासम्मका १२ हजार ६ सय ४९ जना विद्यार्थी परीक्षामा सहभागी भएको नगरस्तरीय शैक्षिक समन्वय समितिका परीक्षा संयोजक कृष्ण पोखरेलले जानकारी दिनुभयो । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले परीक्षाको प्रश्नपत्रको व्यवस्था गरेको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ ।

यस्तै, भोलि सोमबार नेपाली, मंगलबार गणित, बुधबार सामाजिक, बिहीबार विज्ञान तथा प्रविधि, शुक्रबार स्वास्थ्य शिक्षा, आइतबार स्थानीय विषयको परीक्षा हुने जनाइएको छ । कक्षा ९ र १० को ऐच्छिक प्रथम र द्वितीय विषयको परीक्षा पनि शुक्रबार र आइतबार हुने परीक्षा संयोजक पोखरेलले बताउनुभयो ।