काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) राष्ट्रिय गौरवको आयोजना हो । बहुचर्चित, बहुप्रतीक्षित र निकै महत्व दिइएको यस आयोजनाको निर्माण कार्य भने निकै सुस्त छ । देशको विकासलाई कायापलट गर्ने भनिएको यो सडक बन्न अझै कति समय लाग्छ ? कुनै निश्चितता छैन । २०७४ वैशाख २१ मा नेपाली सेनालाई निर्माण जिम्मा दिने निर्णय भएर २०७४ साउन २७ गतेबाट दु्रतमार्ग निर्माणको औपचारिक जिम्मेवारी सेनाले पाएको हो । ४ वर्षभित्र निर्माण सक्ने भनेर काम सुरु भएको ७ वर्षमा एक तिहाइमात्र भौतिक प्रगति हुँदा दु्रतमार्ग निर्माणको गति सुस्त देखिएको हो । पछिल्लो पटक थप भएको म्यादअनुसार २०८३ सम्म मार्ग निर्माण सम्पन्न गर्नुपर्नेछ । कुल ७०.९७ किलोमिटर लामो यस मार्गको काठमाडौंतर्फको प्रस्थान विन्दुसहितको करिब छ किलोमिटर खण्ड निर्माण सुरु हुने समय नै नश्चित नहुँदा मार्ग निर्माण सकिने मिति अनिश्चित बनेको छ ।

द्रुतमार्गको काम सुस्त भए पनि थुप्रै सुरुङ र पुलका कारण संरचना भव्य हुने देखिएको छ । द्रुतमार्गको ६ ठाउँमा बनाइने १२ वटा सुरुङको काम तीव्र गतिमा भइरहेको छ । द्रुतमार्गको लेनडाँडा, धेद्रे, महादेवटार, चन्द्राम, सिसौटार र देवीचौरमा गरी एकतर्फी १० किलोमिटरभन्दा बढी दुरीको सुरुङ निर्माण हुनेछ । दुईतर्फी अलग–अलग बनिरहेको सुरुङमध्ये लेनडाँडाको एउटा सुरुङ गत जेठ ४ गते ब्रेकथ्रु भएको थियो । त्यसलगत्तै धेद्रेको दुईवटै सुरुङ ब्रेकथ्रु भएको छ भने गत बिहीबारमात्र लेनडाँडाको अर्को सुरुङ पनि ब्रेकथ्रु भएको छ । ६ वटा सुरुङमध्ये सबैभन्दा लामो महादेवटारको सुरुङ खन्ने काम पनि सकिन लागेको छ । तर, पछि थप भएका देवीचौर, सिसौटार र चन्द्राम सुरुङको काम भने सुरुवाती अवस्थामा छ । द्रुतमार्गमा कुल १२ किलोमिटर भन्दा धेरै लम्बाइ हुने ८९ वटा पुल पनि निर्माण हुनेछन् । यीमध्ये १६ वटा पुल विशेष प्रकृतिका छन् । १० देखि ८१ मिटर अग्ला पुल बन्नेछन् । द्रुतमार्ग ललितपुरमा ९ किमि, काठमाडौंमा ४.६ किमि, मकवानपुरमा ४९.७७ किमि र बारामा ७.६ किमि पर्छ ।

काठमाडौंबाट एक घण्टामै निजगढ पुगेर पूर्व–पश्चिम राजमार्ग भेटिने गरी बनाउन सुरु गरिएको द्रुतमार्गको निर्माण कार्य १३ खण्डमा विभाजन गरिएको छ । ७.६ किलोमिटर लामो एउटा खण्ड आगामी वर्षभित्र पूरा हुने सम्भावना छ । काम सुरु भएका ११ वटा खण्ड पनि तोकिएको समयभित्रै वा केही ढिला सम्पन्न होलान् । तर, जग्गा अधिग्रहण र मुआब्जा विवादका कारण काठमाडौंतर्फको प्रवेश विन्दु टुंगो नभएर निर्माण सुरु हुने अवस्थामै नरहेको ६ किलोमिटरको एक खण्डका कारण द्रुतमार्ग निर्माणमा थप ढिलाई हुने सम्भावना देखिएको छ । पछिल्लो संशोधित डीपीआर अनुसार द्रुत मार्ग निर्माणका लागि २ खर्ब १२ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । विगतमा डीपीआर बनाउन ढिलाइ हुँदा समयमा द्रुतमार्ग निर्माण सुरु हुन सकेन । कोभिड–१९ महामारी, रुख कटान, जग्गा अधिग्रहण, ठेक्का व्यवस्थापनलगायत समस्याले निर्माण कार्यमा विलम्ब भइरहेको छ ।

काठमाडौं उपत्यकाको जनघनत्व कम गर्न र मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्याउन निकै महत्वपूर्ण मानिएको दु्रतमार्ग निर्माणको गति तिब्र बनाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय मापदण्डको एक्सप्रेस राजमार्गको रुपमा निर्माण हुने दु्रतमार्गले यात्रा अवधि छोट्टिनुका साथै ठूलो परिमाणमा इन्धन रसवारी पार्टपूर्जाको खपत घटाउनेछ । मुलुकका विकास आयोजना निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्न द्रुतमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गराइएको छ । त्यतिमात्र नभई निर्वाध निर्माण कार्य अघि बढाउनकै लागि द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको हो । यस्तो प्राथमिकता प्राप्त द्रुतमार्ग निर्माणमा देखिएका विवादहरुलाई समयमै समाधान गर्दै निर्माण कार्यलाई तिब्रता दिनु आवश्यक छ । निर्माणमा बढी समय लाग्ने लामा सुरुङ र अग्ला पुलहरु निर्माणको प्रगति सन्तोषजनक रहेको हुँदा दृढताका साथ द्रुत गतिमा काम गर्ने र गराउने हो भने द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ ।