पूर्णप्रसाद अर्याल, अध्यक्ष नेपाल स्वयम्सेवी रक्तदाता समाज हेटौँडा उपमहानगर समिति

आज जुन १४ अर्थात् विश्व रक्तदाता दिवस । रक्तदानलाई जीवनदान पनि भनिन्छ । स्वास्थ्य उपचारको क्रममा मानिसको शरीरमा रगत नै चढाउनुपर्ने अवस्था समेत रहन्छ । एकजना विरामीका लागि आवश्यक रगत अर्का स्वस्थ मानिससँग संकलन गर्नुपर्ने हुन्छ । आधुनिक चिकित्सा विज्ञानले अकल्पनीय अभ्यास गरिरहेका बेला हाम्रो जस्तो समाजमा अझै रक्तदानसम्बन्धी विविध भ्रम छन् । आज विश्व रक्तदान दिवसको अवसर पारेर नेपाल स्वयम्सेवी रक्तदाता समाज हेटौँडा उपमहानगर समितिका अध्यक्ष पूर्णप्रसाद अर्यालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः तपाई रक्तदाता स्वयम्सेवी समाज हेटौँडा उपमहानगरपालिका समितिको अध्यक्ष हुनुहुन्छ । विश्व रक्तदाता दिवसको अवसरमा के कस्ता कार्यक्रम गर्दै हुनुहुन्छ ?
अर्यालः
हामीले यो कार्यक्रम नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर निरन्तर गर्दै आएका छौँ । १८ बर्षको उमेर पूरा भएपछि युवा र केहि रोग नलागेकाहरुसँग जति पटक पनि रगत संकलन गर्न सकिन्छ । समाजमा रक्त अभाव परेका मानिसहरुलाई जति बेला पनि उपलब्ध गराउने काम गर्दै आएका छौँ । हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा पनि हाम्री सुत्केरीलाई रगत सहयोग गर्छौँ । र विश्व रक्तदाता दिवसमा हामी रेडक्रससँग सहकार्यमा कार्यक्रम गर्दैछौँ ।

समाजः स्वयम्सेवी रक्तदाता समाज मकवानपुर स्थापना भएको छोटो अवधि भयो । यो बीचमा के कस्ता कार्यहरु गरियो ?
अर्यालः
करिब डेढ महिनाअघि बुद्धचोकमा रक्तदान कार्यक्रम गरेर हामीले रक्तदाता समाजको सुरुवात गरेका थियौँ । अहिलेसम्म २० औँ पटक हस्पिटललाई आवश्यक परेको समयमा रगत उपलब्ध गराएका छौँ ।

समाजः स्वयम्सेवी रक्तदाता समाजमा सदस्य संख्या कति छ ?
अर्यालः
१८ बर्ष उमेर पूरा भएका सबैले सदस्य बन्न पाउनुहुन्छ । हामीसँग अहिले करिव ५ सय जना सम्पर्कमा हुनुहुन्छ । हाम्रो लक्ष्य ५ हजार सदस्य बनाउने रहेको छ ।

समाजः रक्तदाताहरुमा केही भ्रम रहेको छ ? रक्तदाताहरुलाई सुचित गराउन, अभिमुखीकरण गराउन, सचेत गराउन के गर्नुपर्ने देख्नुहुन्छ ?
अर्यालः
रेडक्रसले रगत पैसामा बेच्ने गरेको भन्ने भ्रम थियो । अहिले त्यो हटेको छ । हामीले निःशुल्क संकलन तथा वितरण गरेको छौँ । मकवानपुरका पालिकाहरुले आफ्ना नागरिकका लागि निशूल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

समाजः मकवानपुर जिल्लामा रगतको आवश्यकताको मात्रा र संकलनको मात्रा कस्तो छ ?
अर्यालः
मकवानपुर जिल्लाको हेटौँडामा हामी काम गर्दा यहाँका अस्पतालमा शल्यक्रियाको समयमा बढी रगत आवश्यक पर्छ । अहिले ४ सय पोकासम्मको रगत हामी उपलब्ध गराउन सक्छौँ ।