हेटौँडा : हेटौँडा–१, चौकीटोलमा देवरले भाउजुको हत्या गरेको छ । २२ वर्षीय राहुल दासले बुधबार दिउँसो साढे ३ देखि ४ बजेको बीचमा आफ्नी जेठी भाउजु ३५ वर्षीय गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । राहुलले माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएको छ । घाइते रुपेशको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
तीन दाजुभाइ मध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । ३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरी जानकारी दिएको छ । बुधबार राती १० बजेसम्म पनि प्रहरीले गुडियाको शव उठाएको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
हेटौँडामा तरकारी तथा फलफूलको थोक बजारमा बुबासँगै फलफूलको व्यवसाय गर्दै आएका रुपेश दासमाथि भाइले नै सांघातिक आक्रमण गर्नुका साथै जेठी भाउजुको समेत हत्या गर्नुको कारण स्पष्ट नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राहुलले भाउजुको हत्या गरेको, दाइमाथि पनि सांघातिक आक्रमण गरेको स्वीकारेका छन् ।