हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, त्रिवेणीचोकमा बाबुले चलाएको ट्रकले ठक्कर दिँदा छोरीको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेर २० मिनेटको समयमा बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान ट्रकले ब्याग गर्ने क्रममा ठक्कर दिँदा ३ वर्षीया समीक्षा बरालको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
गाडी चालक बालिकाका बाबु सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ घर भई हाल नालामा बस्ने ३० वर्षीय सरोज बरालले रहेका छन् । बरालले खाली ट्रक ब्याक गर्ने क्रममा ठक्कर दिँदा बालिका गम्भिर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो १२ बजेर २९ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ ।