केही दिनदेखि देशभर गर्मी बढेको छ । दिउँसो चर्को घाम लाग्ने गरेका कारण गर्मी बढेको हो । गर्मी बढ्दा तराई मधेशका जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरुमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ । बिहीबार धनगढीको तापक्रम ४४ दशमलब १ डिग्री सेल्सियस पुगेको छ । धनगढीमा बुधबार ४३ दशमलब ३६ डिग्री सेल्सियस तापक्रम थियो । बिहीबार वर्षकै सर्वाधिक तापक्रम धनगढीमा पाइएको छ । चर्को घामसँगै बढेको तापक्रमले तातो हावा चल्दा दिउँसो घरबाहिर निस्किनै नसकिने अवस्था भएको छ । नेपालमा मात्र नभई छिमेकी मुलुक भारतको विभिन्न ठाउँमा गर्मी अत्यधिक बढेको छ । बढ्दो गर्मीका कारण तराई मधेशका विभिन्न जिल्लाका स्थानीय तहले विद्यालय बन्द गराएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करिब एक महिना विद्यालय बन्द गरेको छ भने धनगढीका विद्यालय पनि एक हप्ता बिदा गरिएको छ । जनकपुर लगायत पूर्वी तराईका विभिन्न स्थानीय तहमा पनि विद्यालय बन्द गरिएको छ ।
मनसुन सुरु हुन अझै करिब दुई हप्ता बाँकी छ । नेपालमा सरदर १३ जुनमा मनसुन भित्रिने गर्दछ । दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । भारतको मौसम विज्ञान विभागले आज बिहीबारसम्म मनसुन भित्रिनसक्ने अनुमान गरेको भए पनि भारतमा मनसुन भित्रिसकेको छैन । सामान्यतया भारतमा मनसुन भित्रिएको हप्ता–दश दिनभित्र नेपालमा मनसुन आइपुग्छ । तर सधैं यस्तै अवस्था हुन्छ भन्न सकिँदैन । मनसुन सुरु नहुँदासम्म गर्मी भइरहने सम्भावना छ । चर्को घाम लागेर गर्मी बढ्ने र पानी पनि पर्ने गरेका कारण विभिन्न रोगको संक्रमण बढ्ने सम्भावना रहन्छ । चर्को गर्मीबाट आक्रान्त भएकाले पानी पर्दा केही राहत मिल्ने भए पनि यसले विभिन्न प्रकारको रोगको संक्रमणको जोखिम बढाउँछ । चर्को घाम लाग्ने, एक्कासी पानी पर्ने र छिनमै फेरि घाम लाग्ने गर्दा मौसम थप प्रतिकूल हुन्छ । यस्तो समयमा विभिन्न प्रकारका रोगहरुको संक्रमण बढ्ने गर्दछ । प्रतिकूल मौसमका कारण वातावरणमा हुने प्रदूषणले पनि विभिन्न सरुवा रोगको संक्रमण बढ्ने गरेको पाइन्छ ।
देशका अधिकांश क्षेत्रमा गर्मी बढिरहेको छ । गर्मीका कारण प्रभावित भइरहेको जनजीवनसँगै रोगको जोखिम पनि बढेको छ । बढ्दो गर्मीका कारण विभिन्न प्रकारका संक्रामक रोगका जीवाणु तथा भाइरसको संक्रमण बढ्छ । गर्मीका कारण खाना छिटो सड्ने र यस्तो खाना विषाक्त हुने भएकाले रोगको संक्रमण हुनसक्छ । गर्मीमा लामखुट्टेको वृद्धि पनि बढी हुने भएकाले रोगको संक्रमण बढी हुने गर्दछ । गर्मी मौसममा बढ्ने प्रदूषणले पनि रोगहरु निम्त्याउँछ । गर्मी मौसममा सामान्य रुघाखोकी तथा ज्वरोको समस्या हुन्छ । गर्मीमा दूषित खाना तथा पानीका कारण टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोग संक्रमणको जोखिम बढी हुन्छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कीट तथा भुसुनाको टोकाइबाट सर्ने स्क्रवटाइफस, कालाजार आदि गर्मीमा नै बढी देखिने गरेको छ । गर्मी मौसममा सर्पदंशको सम्भावना पनि बढी हुन्छ ।
गर्मीबाट प्रत्यक्ष बच्न चर्को घाममा बाहिर हिँडडुल गर्नु हुँदैन । हिँडडुल गर्नैपर्ने अवस्थामा छाता ओढ्नुपर्छ । सडेगलेका, झिंगा भन्केका खानेकुराखानु हुँदैन । सरसफाइमा बढी ध्यान दिनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । रोगको संक्रमणको जोखिम जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगीलाई बढी हुन्छ । गर्मी बढ्दै गएपछि विद्यालय जाने बालबालिका पनि प्रभावित बन्ने गरेका छन् । बालबालिका दिनभर विद्यालयमा चर्को गर्मी मा बस्दा बालबालिकाको स्वास्थ्यमा समस्या आउन सक्छ । यसकारण तराई मधेशका धेरै ठाउँमा केही दिनदेखि झण्डै एक महिनासम्म विद्यालय बन्द गरिएको छ । प्रत्येक वर्ष गर्मी मौसममा यस्ता समस्या दोहारिने गरेको भए पनि त्यसबाट बच्ने प्रभावकारी उपाय अपनाउने गरिएको छैन ।