हेटौँडाः बागमती प्रदेशसभा सदस्य उद्धव थापाले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सोचेअनुरुप नभएको र आगामी बजेट आफ्ना कार्यकर्ता पोस्ने गरी बनाउने देखिएको बताउनुभएको छ । बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफलका सहभागी हुनुहुँदै थापाले प्रदेश सरकारले आफ्ना कार्यकर्ता पोस्ने, आफ्नालाई फाइदा हुने र विपक्षीलाई देखाउने गरी बजेट प्रस्तुत गर्ने संकेत गरेको आरोप लगाउनुभएको छ ।
विगतमा ७० अर्बको बजेट निर्माण भएको पछि घटेर ६२–६३ अर्बको बजेट निर्माण भएको र अहिलेको बजेट ५० अर्बमा आउन सक्ने अवस्था भएकाले यो अवस्था कसरी सिर्जना भयो भनेर हेर्न आवश्यक रहेको उहाँको भनाई छ । “प्रदेश सरकारको छुट्टै आयको स्रोत के छ भनेर हेर्न आवश्यक छ, संघीय सरकारले १७ खर्ब बजेटलाई बढाएर १८ खर्ब ६० अर्ब ३० करोड बनाएको छ, सरकारले जनतालाई ऋण बोकाएको छ, संघीय सरकारले ५ खर्ब घाटाको बजेट बनाएको छ”, थापाले भन्नुभयो, “प्राथमिकताको आधारलाई टेकेर नीति तथा कार्यक्रम बनाउने र नीति तथा कार्यक्रममा रहेर बजेट निर्माण गर्नु हुन्छ तर त्यस्तो नभई बजेट आफ्ना–आफ्नालाई पोस्ने काम हुन्छ । प्रदेश सरकारले आफ्नालाई मात्र नहेरी सम्पूर्ण जनतालाई हुने गरी बजेट ल्याउनु पर्छ ताकि प्रदेशका जनताले प्रदेश सरकार हाम्रा लागि पनि हो भनेर अनुभुति हुनु पर्छ ।”
थापाले प्रदेश सरकारले बागमती प्रदेश माथि उक्लनु पर्र्ने स्थानमा तलतिर झर्ने काम मात्र गरिरहेको आरोप लगाउनुभयो । सरकारले बजेटलाई व्यवहारिकरुपमा लैजान आवश्यक रहेको औँल्याउनुहुँदै केही शब्द जाल राखेर, केही नारा थपेर नीति तथा कार्यक्रम प्रस्तुत भएको उहाँको जीकिर छ । हिजोको दिनमा भएको कार्यक्रम कति कार्यान्वयन भयो भनेर कुनै आधार नै नभएको उहाँले दावी गर्नुभयो । सरकारले कृषकलाई परिचय पत्र दिने भन्ने तर त्यसो नभएको उहाँको भनाई छ । ब्रह्मलुट गर्न नपाउने बताउँदै व्यक्तिगत रुपमा रापनीति नभई मुलुकका लागि राजनीति गर्न आवश्यक छ रहेको थापाले स्पष्ट पार्नुभयो ।