हेटौंडाः मकवानपुरमा चलिरहेको यु–१९ क्रिकेटको छनोट प्रतियोगितामा बिहीबार मकवानपुर रातो विजयी भएको छ । मकवानपुर पहेँलोलाई ८५ रनले पराजित गर्दै मकवानपुर रातो विजयी भएको हो ।

हुप्रचौरमा भएको खेलमा मकवानपुर रातोले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । मकवानपुर रातोको तर्फबाट सृजन अधिकारीले ६४ रन र नितेश यादवले २२ रन बनाएका थिए । मकवानपुर पहेँलोका कुशल दुलाल र गोकुल अधिकारिले २–२ विकेट लिएको मकवानपुर क्रिकेट संघका सचिव विनोद बानियाले जानकारी दिनुभयो । मकवानपुर रातोले २५ ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनाउन सफल भएको हो ।

मकवानपुर पहेँलो १३ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो । मकवानपुर पहेँलोका सुन्दर यादवले २३ रन र इसानकुमार मिश्रले १४ रन बनाएका हुन् । रोहित ठाकुरले ४ र आदर्श भट्टराई तथा नितेश यादवले २–२ विकेट लिएका हुन् । खेलको म्यान अफ द म्यान मकवानपुर रातोका क्याप्टेन रोहित ठाकुर भएका थिए ।

बुधबार भएको पहिलो खेलमा नेभी ब्लुले मकवानपुर रातोलाई १ विकेटले जितेको थियो । दोस्रो खेलमा मकवानपुर पहेँलोले स्काइ ब्लुलाई ५ विकेटले पराजित गरेको थियो । आज शुक्रबारको पहिलो खेल मकवानपुर रातो र स्काइ ब्लुबिच हुनेछ भने दोस्रो खेल मकवानपुर पहेँलो र नेभी ब्लुबिच हुने बानियाले बताउनुभयो ।

वाइवाइ यु–१९ मेन राष्ट्रिय क्रिकेट टूर्नामेन्ट–२०८१ का लागि जिल्लाबाट १४ जना छनोट हुनेछन् । मकवानपुर क्रिकेट संघले छनोट खेलका लागि ४ वटा टिम बनाएको छ । चारवटै टिमबीच भएको प्रतियोगिताबाट संघले १४ जना उत्कृष्ट खेलाडी छनोट गरी जिल्लाको टिम बनाउने जनाएको छ । खेल ४ दिनसम्म हुनेछ । यस्तै, मकवानपुरको क्रिकेट टिमले जेठको अन्तिममा काठमाडौं, चितवन, ललितपुर, भक्तपुर र नुवाकोटसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल काठमाडौंमा हुनेछ । यसैगरी, ६ वटा जिल्लाबिच हुने प्रतियोगिताबाट एउटा प्रदेशको टिम छनोट गरिनेछ ।