नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रदेश सभा सदस्य प्रभात तामाङ ।

हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु भएको छ । बुधबार दिउँसो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भनी प्रस्ताव गर्नुभएपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभा सदस्यहरुलाई छलफलका लागि अवसर दिनुभएको हो ।

नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्ष दुबै सदस्यले बोलेका छन् । प्रदेश सभा सदस्य प्रभात तामाङले नीति तथा कार्यक्रम दिशा र लक्ष्य विहिन रहेको बताउनुभएको छ । प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमले दीर्घकालिन दायित्व सिर्जना गर्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो । सरकारलाई दीर्घकालिन दायित्व सिर्जना हुनु भनेको खतरनाक कुरा भएको तामाङको भनाइ थियो ।

प्रदेशको आफ्नै स्रोत नभएको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकार चल्नै नसक्ने अवस्थामा पुग्ने जोखिम औँल्याउनु भयो । “बागमती प्रदेश सरकारको आयको प्रमुख स्रोत घरजग्गा कर हो । धनी मान्छेले चढ्ने सवारी कर पनि अर्को स्रोत हो । सामान्य सेवा शूल्कबाट प्रदेश सरकार चलेको छ । प्रदेश सरकारलाई दिगो र आर्थिक रुपमा सवल बनाउने भए के गर्छौं ? त्यो स्पष्ट छैन”, तामाङले भन्नुभयो, “स्रोतको व्यवस्थापन गर्न नीति तथा कार्यक्रम प्रष्ट छैन । नीतिमा स्पष्टता छैन । कार्यक्रम गर्छौं मात्रै भनिएको छ । तर, त्यसको लाभ के हुने स्पष्ट छैन ।”

स्थानीय तहको अधिकार क्षेत्रमा मात्रै लगानी भइरहेको उहाँको भनाइ छ । “विद्यालय तहमा स्थानीय, प्रदेश र संघीय तीनै सरकारको लगानी छ । तर, १२ कक्षा उत्तीर्ण विद्यार्थी विदेश गइरहेका छन् । शिक्षामा स्पष्ट नीति नै ल्याउन सकेनौं”, तीनै तहका सरकारले गरेको लगानीको प्रतिफल भने तीनै तहले लिन सक्ने अवस्था छैन । एकल अधिकारको क्षेत्र स्पष्ट बनाएर नीति बनाएर काम गरौं । परिवर्तन गलत किसिमले भइरहेको छ ।”

“लगानी बोर्ड भनेका छौं तर, दायित्व मात्रै सिर्जना भएको छ । अहिले फेरि वातावरण परिषद् गठन गर्ने भनिएको छ । यसले पनि दायित्व मात्रै सिर्जना गर्छ । यस्ता बोर्ड र परिषद्ले प्रदेश सरकारलाई उठ्न नसक्ने गरी भारी बोकाउनेछ । संघीय सरकारले ज्येष्ठ नागरिक भत्तामा मात्रै एक खर्ब २० अर्बको दायित्व सिर्जना भएको छ । विकास बजेटको झण्डै आधा पुँजी भत्ता वितरणमा खर्चेर कसरी विकास सम्भव हुन्छ ?” तामाङको प्रश्न थियो । प्रदेश सभा सदस्यलाई सदनमा राम्रो बोलेर चर्चित मात्रै हुनु परेको दावी गर्नुहुँदै तामाङले प्रदेश सरकारलाई सवल र दीर्घकालिन बनाउने, स्वायत्त बनाउने विषयमा ध्यान दिन नसकेको बताउनुभयो ।

बुधबारको बैठकमा प्रदेश सभा सदस्य बहादुर सिं लामा, तारालाल श्रेष्ठ, मसिना खड्का, उत्तम जोशी, मातृकाप्रसाद भट्टराई, राजु विष्ट, बालकुमारी बिश्वकर्मालगायतले बोल्नुभएको छ । सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रममाथि छलफलका लागि बिहिबार बिहान १० बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गर्नुभएको छ ।