वन डढेलो र त्यसबाट हुने आगलागीको समस्या नेपालमा विकराल बन्दै गएको छ । गर्मी मौसम सुरु भएसँगै सुरु हुने वन डढेलो सुख्खा बढ्दै जाँदा भयावह हुने गरेको छ । यस वर्ष गर्मी सुरु भएपछि लामो समयसम्म पानी नपरेर मौसम सुख्खा हुँदै गएपछि वन डढेलोको घटना वृद्धि भइरहेको छ । गर्मी महिनाको सुरुवातबाट वनजंगलका बोटविरुवाका पात झर्छन् । चर्को घाम लाग्ने भएकाले रुखबाट झरेका पातमात्र नभई जमिनमा रहेका घाँस पनि सुक्छन् । यही समयमा पानी नपरेर जमिन सुख्खा हुन्छ र हावाहुरी पनि चल्दछ । यस्तो अवस्थामा वनजंगलमा सल्केको डढेलो फैलिएर घर गोठमा समेत आगलागी हुने गर्दछ । वनजंगलमा लाग्ने डढेलोले साना बोटविरुवामात्र नभई जंगली जनावरलाई पनि नकारात्मक असर पार्दछ । डढेलो अनियन्त्रित भई घरगोठमा आगलागी हुँदा मानिस तथा पशु चौपायाको ज्यान जानुका साथै काठपात, अन्न तथा अन्य भौतिक सामान जलेर नष्ट हुन्छ । वन डढेलो र आगलागीले वायु प्रदूषण वृद्धि भएर मानव स्वास्थ्यमा नकारात्मक असरसमेत पर्दछ ।

मकवानपुर जिल्ला पनि वन डढेलोको प्रकोपबाट उच्च प्रभावित हुने जिल्लामा पर्दछ । मकवानपुर जिल्लाको २ लाख ४४ हजार ३ सय ३६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ६६ हजार ५ सय ३३ हेक्टर वन क्षेत्रले ओगटेको छ । जिल्लाको कुल क्षेत्रफलको ६८ प्रतिशतभन्दा बढी वनजंगल रहेका कारण यो जिल्ला डढेलोको उच्च जोखिममा पर्दछ । चैत मसान्तसम्म ४ हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय मकवानपुरको तथ्यांक भए पनि वैशाख सुरु भएपछि वन डढेलोको घटना व्यापक वृद्धि हुँदा धेरै वन क्षेत्र डढेलोको चपेटामा परिसकेका छन् । सोमबार र मंगलबार दुई दिनमा मकवानपुर जिल्लाका विभिन्न ५ ठाउँमा डढेलोका कारण आगलागी भएको छ । घर गोठमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको बागमती गाउँपालिका–७ को पशुपति सामुदायिक वन, बकैया गाउँपालिका–१० को देउबुजे पाखा, मकवानपुरगढी गाउँपालिलका–६, घोप्टे गाउँको सामुदायिक वन, मनहरी गाउँपालिका–१, घैयाडाँडा तथा हेटौंडा उपमहानगरपालिका–९ को सिमेन्ट उद्योग परिसरमा लागेको डढेलोबाट धेरै स्थानीयको घर तथा गोठमा आगलागी भएको हो ।

सुख्खायाममा मानवीय कारणले नै धेरैजसो वन डढेलो लाग्ने गरेको छ । वनमा डढेलो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भन्ने मानसिकताले लगाइने डढेलो अनियन्त्रित भई आगलागीबाट ठूलो क्षति पुर्याएका घटना प्रशस्तै छन् । करिब एक साताअघि गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा डढेलो अनियन्त्रित भई आगलागी हुँदा सयौं घरगोठ जलेर नष्ट भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार देशका ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । तत्कालै वर्षा हुने सम्भावना नभएकाले वन डढेलो बढ्दै जाने निश्चित छ । नेपालमा ६४ प्रतिशत वन डढेलो व्यक्तिले जानीजानी लगाउने, ३२ प्रतिशत लापरवाही तथा दुर्घटनाबाट हुने र चार प्रतिशत अन्य स्रोतबाट हुने सरकारी तथ्यांक छ ।

नेपालमा वन डढेलो र त्यसबाट हुने आगलागीका घटना वर्षेनि दोहोरिँदा पनि नियन्त्रणका प्रभावकारी उपाय अपनाउन सकिएको छैन । धेरैजसो वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म हुने गर्छ । त्यसमध्ये पनि चैत र बैशाखमा डढेलोको घटना बढी हुने गर्दछ । वनको दिगो व्यवस्थापन हुन नसक्दा वन डढेलोको घटना पनि बढिरहेको निश्चित छ । वन डढेलो नियन्त्रणको सबैभन्दा उत्तम उपाय जनचेतना वृद्धि गर्ने नै हो । तर, डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरुले जनचेतनामूलक कार्यक्रम गर्ने गरेको भए पनि निष्प्रभावी बनिरहेको छ । मानवीय गतिविधिका कारण हुने वन डढेलो रोक्न कतै–कतै सिसी क्यामरा जडान कार्यसमेत सुरु गरिनुलाई सकारात्मक सुरुवात मान्नुपर्छ । यसले वन डढेलो लगाउने मानिसको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग पुग्नुका साथै वन डढेलोबारे समयमै जानकारी हासिल गर्न सहज हुनेछ । डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा अग्निरेखा बनाउने र सम्भव भएका ठाउँमा नियन्त्रित डढेलो लगाएर पनि डढेलो नियन्त्रण गर्न सकिन्छ ।