मुलुकमा बन्दाबन्दी केही खुकुलो मात्र भएको हो, खुलेको छैन । तर, सवै सहर बजारमा पुरै लकडाउन सकिएको जस्तै वातावरण देखिँदै छ । जनजीवन सहज रुपमा सन्चालन होस् र हुनु पनि पर्दछ । तर यसले थप अप्ठेरो परिस्थिति नल्याओस् भन्नेतर्फ आम नागरिकदेखि सम्बन्धित पक्ष सचेत हुनै पर्दछ । लामो समयको बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भएकाले सरकारले लकडाउनको स्वरुपमा परिवर्तन मात्र गरेको हो हटाएको हैन । तर आज कोरोनाको पुरै जोखिम सकिएको जस्तै निस्फिक्रीरुपमा मानिसहरुको चहलपहल बढेको छ । सबै प्रकारका कारोबार पूर्ववत् सन्चालित छन् । त्यति मात्र हैन कि आवश्यक सुरक्षा सतर्कता समेत देखिँदैन । यसरी मानिसहरुको हिमचिम बढ्ने हो भने कोरोनाको महामारी थप जटिल नबन्ला भन्न सकिदैन ।

कोरोना नियन्त्रणका लागि लकडाउन मात्रै निर्विकल्प हैन । तर शारीरिक तथा सामाजिक दुरी अत्यावश्यक छ । लामो समय कोरोनाको संक्रमण रही रहेमा बन्दाबन्दी कहिलेसम्म भन्ने प्रश्नका आधारमा पनि दैनिक कारोबार सुचारु हुनै पर्ने छ । त्यसका लागि पनि बन्दाबन्दी खुकुलो हुन आवश्यक नै थियो । तर बिना होशियारी र असावधानीले जटिल परिस्थिति नआउला भन्न सकिदैन । जनजीवन ठप्प भएपछि सबैले लकडाउनको स्वरुपमा परिमार्जन गर्न सरकारलाई सुझाव दिएकै हुन् । तर आवश्यक मात्रामा तयारी र निगरानी हुनु जरुरी छ । सबैले लकडाउनको विरोध गरेकाले अब जेसुकै होस् भन्ने मानसिकतामा राज्य बस्नुहुँदैन ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरे पनि मकवानपुरमा पनि लकडाउन खुला भएको छ । जिल्लामा स्थानीय प्रशासन र प्रहरीले लकडाउनलाई खुकुलो बनाउँदा अपनाउनुपर्ने सतर्कतातर्फ ध्यान दिन सकेको छैन । खुकुलो बनाउन राज्यले केही सर्तहरु राखेको छ । त्यसको परिपालना गर्नु आमनागरिको दायित्व हो भने त्यसको निगरानी गर्ने जिम्मेवारी स्थानीय प्रशासनको हो । तर मकवानपुरमा दुबै तर्फबाट आफ्नो भूमिका र जिम्मेवारी भुलेको अवस्था छ । निजी सवारी साधनमा जोर–विजोर प्रणाली लागु भएको छैन भने आम नागरिकले पनि अपनाउनु पर्ने सतर्कता देखाएका छैनन् । निर्वाध रुपमा सबै प्रकारका निजी सवारी साधन चलेका छन् । सार्वजनिक यातायातको रुपमा अटो, मयुरी, ढुवानीका साधन पनि निर्वाध चल्नु स्वभाविक भए पनि जोखिम न्यूनिकरणका लागि उपायको खाँचो देखियो ।

जिल्ला प्रशासन कार्यालयले लकडाउनका बेला जारी गरिएको सवारी पास खारेज गरेको छ । जोर–विजोर लागु नहुने र सार्वजनिक सवारीका साधनलाई नियमन नगर्दा बजारक्षेत्रमा भीडभाड बढेसँगै कोरोना भाइरसको संक्रमण फैलने त्रास बढेको छ । तर आफुलाई नपरेसम्म मानिस सचेत हुँदैन । अतिआवश्यक काम बाहेक अहिले पनि घर बाहिर नजान सरकारले भनिरहेकै आस्था हो । तर नागरिकमा त्यस प्रकारको जिम्मेवारीवोधको खाँचो छ । मानिसको छाक टार्न नै समस्या भएपछि आर्थिक कारोबार बढाउने र राजस्व उठाउने उद्देश्यबाट पनि बन्दाबन्दी केही खुकुलो बनाउने कदम सरकारले चालेको हो । कर्मचारीको तलब नै खुवाउन मुस्किल हुने अर्थमन्त्रीले बताएपछि आर्थिक गतिविधि बढाउनुको विकल्प पनि छैन । बन्दाबन्दी सकिएको हैन केही सहज भएको मात्र हो भन्ने कुरालाई सबैले हेक्का राख्न जरुरी देखिन्छ ।