हेटौंडाः विश्वविख्यात बेलायती फुटबल लिग इंग्लिस प्रिमियर लिग गएरातीबाट सुचारु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मार्च महिनाको १० तारेख यता रोकिएको खेल गए रातीदेखि सुचारु भएको हो । यसअघि जर्मन, स्पेनिस, इटालियन लिग सुचारु भइसकेको छ ।

गएराती भएको खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेलेको छ । गोलरहित बराबरी खेलेसँगै सेफिल्ड युनाइटेड पाँचौ स्थानबाट उक्लने अवसरबाट बञ्चित भएको छ । एस्टन भिल्ला भने अन्तिमबाट दोस्रो स्थानमा रहेको छ । २९ खेल खेलेको सेफिल्ड युनाइटेडको ४४ अंकसहित छैठौं स्थानमा रहेको छ । यस्तै गएराती नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० गोलअन्तरले पराजित गरेको छ । १० खेलाडीमा सीमित भएको आर्सनविरुद्ध म्यान्चेस्टर सिटीले सहज जीत हासिल गरेको हो ।

पहिलो हाफको अतिरिक्त समयमा रहिम स्टर्लिङले गोल गरेर म्यान्चेस्टर सिटीलाई खेलमा अग्रता दिलाएको थियो । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै डेभिड लुइजले रातो कार्ड पाएसँगै आर्सनल १० खेलाडीमा सीमित भएको हो । ५१ औं मिनेटमै सिटीले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै केभिन डी ब्रुनिईले गोल गर्दै २ गोलको अग्रता बनायो । सिटीको फराकिलो जितका लागि फिल फोडेनले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै ३–० गोलअन्तरले जीत हासिल गरेको हो । लिगमा नेपाली समयअनुसार भोली राती पौने ११ बजे साउथह्याम्प्टन र नर्विच सिटीको खेल हुनेछ ।