माघी महोत्सवको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै ।

हेटौंडाः हेटौंडामा छैठौं थारु माघी महोत्सव हुने भएको छ । शनिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै यही सोमबार हुन लागेको महोत्सवको बारेमा जानकारी गराएको हो । माघी महोत्सव मुल आयोजक समिति मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा भुटनदेवी चौरमा हुने महोत्सवको उद्घाटन नगर प्रमुख मीनाकुमारी लामाले गर्नुहुने आयोजकले जनाएको छ । थारु जातिको सांस्कृतिक, लोककला, भाषा, दर्शन, साहित्य, रितिरिवाज र थारु खाना परिकारहरुको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थारु समुदायको लुकेको क्षमतालाई प्रस्तुत गर्न महोत्सव सहयोगी हुने बताइएको छ । आदिवासी जनजातिका अधिकारका पक्षहरुलाई जागरण गराउन राष्ट्रिय विकास र श्रोत साधनमा सिंगो आदिवासी थारु समुदायको पहिचानलाई अगाडि बढाउन तथा ग्रामीण अर्थतन्त्रमा थप टेवा पुर्याउने २०७५ सालदेखि महोत्सवको आयोजना गर्दै आएको आयोजक समितिका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।

हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालको चौरमा हुने महोत्समा करिब ७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सव आयोजनाका लागि हेटौंडा सिमेन्ट उद्योग, बुद्ध इन्जिनियरिङ वर्कशप, राधेराधे इन्जिनियरिङ वर्कशप, मेरिना ड्राई क्लिनिङ, आकृति फार्मेसी, एस डान्स कम्पनी, चौधरी मोटरसाइकल वर्कशपलगायत विभिन्न संघसंस्था र व्यक्तिहरुबाट पनि सहयोग प्राप्त भएको छ । नेपाललगायत अन्तर्राष्ट्रिय जगतमा आफ्नो समुदायको सामाजिक, रीतिरिवाज तथा ऐतिहासिक तथ्यहरुको खोजी गर्न, संस्कृतिको संरक्षण, जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण, थारुको पहिचानलाई जगेर्ना गर्न प्रत्येक वर्ष काठमाडौं र विदेशमा भव्यरुपमा माघी पर्व मनाउँदै आएको उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा विभिन्न पेशा व्यवसायमा आवद्ध भएका थारुहरु एकजुट भएर २०५५ सालमा थारु कल्याणकारिणी सभाको गठन गरेको बताउनुहुँदै समितिले नेपाल आदिवासी जनजाति महासंघको संगठनको रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सचिव चौधरीले जानकारी दिनुभएको छ ।

समुदायले यस पर्वलाई विशेष तिला संक्रान्ति, माघे संक्रान्ति, माघी, खिचरा र खिचडीको रुपमा मनाउने गरेको छ । पश्चिम तराईमा माघीको अवसरमा बडघडिया (गाउँको मुली), चिरकिया (गाउँको पुजारी), चौकीदार (गाउँको हुलाकी) र घरायसी कामको लागि घरधुरिया एक वर्षको लागि छनोट गर्ने गरेको उहाँले बताउनुभयो । थारु बस्तीहरुमा माघ १ गते बिहानै खोला, पोखरीमा गई नुहाईधुवाई गर्ने, घरघरमा आफूभन्दा ठूलालाई आदर गर्ने, माघीका परिकारहरु तिलुवा लरु (तिलको लड्डु), लाय (भुजाको लड्डु, डिकरी, माछा र मासु खाएर माघी पर्व मनाउने गरेको बताउनुभयो । संक्रान्तिको दुई दिन अगाडि माछा मारेर खाने, पौष मसान्तको दिन जिता (सुंगुर, बंगुर, खसी मारेर) खाने र साँझबाट धूमरु गाइने तथा नाचगान गरी रातभर जाग्राम बस्ने गरेको उहाँले बताउनुभयो ।