देश विकासको मेरुदण्ड भनेको त्यस देशको युवाशक्ति हो । युवाहरुलाई शिक्षित, सीपवान, दक्ष र सक्षम बनाएर देशमै टिकाइराख्न सकेमा देश विकासको क्रमले गति लिन सक्छ । युवाले चाहेमा देशको समृद्धिमा महत्वपूर्ण योगदान दिनसक्ने भए पनि नेपालको अवस्था त्यस्तो छैन । आम नेपाली युवाहरु विदेशिने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । केही नगन्य शिक्षित युवाहरु स्वदेशमै अध्ययन पूरा गरेर रोजगारीको क्षेत्रमा लागेका भए पनि अधिकांश युवाहरु विदेशिएका छन् । न्यून रोजगारीको अवसर, आर्थिक समस्या, शैक्षिक क्षेत्रको अस्तव्यस्त नीतिका कारण युवाहरु रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढ्दै गएको छ । दैनिक २ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेको तथ्यांकले युवाको विदेश मोहलाई प्रष्ट पारेको छ । देशभित्रै सम्भावना नदेखेकै कारण युवाहरु विदेशिएका हुन् । सरकारले युवालाई स्वदेशमै टिकाउन र बिकाउन उचित वातावरण बनाउन नसक्दासम्म युवा विदेशिने क्रम रोकिने सम्भावना देखिँदैन ।

देशभित्र रहेका सिमित युवाहरु पनि विभिन्न कुलत र आपराधिक क्रियाकलापमा फस्दै गएका छन् । साथीभाइको संगत, पारिवारिक झैझगडा, प्रेममा धोकाका कारणले युवाहरु मादक पदार्थ तथा लागूऔषध दुव्र्यसनमा फस्ने गरेका छन् । देशभित्र पर्याप्त रोजगारीको अवसर सृजना नहुनु र युवालाई स्वरोजगार बनाउने प्रभावकारी नीति नहुँदा युवाहरु विभिन्न समस्यामा फस्दै गएका हुन् । आफूले चाहेजस्तो रोजगार नपाउने र चाँडै धनी बन्ने सपनाले युवाहरु चोरी, डकैती, हातहतियार, लागूऔषधजस्ता गैरकानुनी सामग्री ओसारपसार÷कारोबारमा संलग्न भइरहेका छन् । राजनीतिमा बढ्दै गएको अपराधिकरणका कारण पनि कतिपय युवाहरु आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइन्छ । स्वदेशको कष्टकर अवस्थाबाट मुक्त हुन र चाँडै धनी बन्ने सपना देखेर विदेशिएका कयौं युवाको बिचल्ली भएको तथ्यलाई पनि भुल्नु हुँदैन । खाडी मुलुकमा कठिन श्रम गर्नेदेखि विभिन्न द्वन्द्व र युद्धग्रस्त क्षेत्रमा नेपालीहरुले पाएको दुःख र पीडालाई सामान्य मान्न सकिँदैन । गैरकानुनीरुपमा विदेश जाने र एउटा देशबाट अर्को देशमा गैरकानुनीरुपमा पुग्ने युवाले भोग्नुपरेको कष्टले नेपाली युवा समस्याको जालोमा रुमल्लिरहेको देखिन्छ ।

पर्याप्त शिक्षा हासिल गर्न नसकेका युवामात्र नभई उच्च शैक्षिक योग्यता भएका र विशिष्ट ज्ञान, सीप हासिल गरेका युवासमेत स्वदेश छाडेर परदेशतर्फ लाग्ने क्रम बढिरहेको छ । वैदेशिने मोहकै कारण देशका सबैजसो गाउँबस्ती युवाविहीन बनेका छन् । विदेश भनेपछि भुतुक्कै हुने युवा र तिनलाई विदेशिन बाध्य पार्ने सरकारकै कारण देशको समृद्धि सपनामात्र बनिरहेको छ । यसले युवा विदेशिनुमा युवा स्वयम् र सरकारको समेत कमजोरी रहेको बुझ्न सकिन्छ । युवाहरुमा जे गर्न सकिन्छ, आफ्नै देशमा गर्नुपर्छ भन्ने सोचको विकास नहुँदासम्म र सरकारले पनि युवालाई स्वदेशमै टिकाउन उचित नीति तथा कार्यक्रम नबनाउँदासम्म विदेशिने क्रम रोकिनेछैन ।

देशमा विद्यमान राजनैतिक अस्थिरता र रोजगारी तथा अवसरको अभावमा अधिकांश नेपाली युवा विदेश पलायन भएका हुन् । मुलुकभित्रै भएका अपार प्राकृतिक सम्पदाको प्रयोग गरी समृद्धिको दैलो उघार्ने कार्यमा युवाले विशिष्ट योगदान दिन सक्छन् । स्वदेशमै विकास निर्माणका कामले तीब्रता पाएमा विदेश जाने युवाको संख्या कम हुँदै जान्छ । नयाँ उद्योगधन्दा स्थापना नहुने, व्यापार खस्कँदै जाने र रोजगारीको अवसर नपाउने कारण नै अधिकांश युवा विदेशिन बाध्य बनेका हुन् । जलस्रोत, पर्यटन तथा कृषिको मात्र विकास गर्न सकेमा पनि युवा विदेशिने क्रम कम हुने र देश समृद्धितर्फ अघि बढ्ने सम्भावना प्रशस्त छ । मुलुक समृद्धितर्फ अघि बढेमा विदेशिएकाहरु पनि स्वदेश फर्कने सम्भावना उत्तिकै हुनेछ । मुलुकका प्रमुख राजनीतिक दलहरु सत्ताको अघिपछि रुमल्लिरहने र युवाहरु विदेश पलायन भइरहने हो भने यो मुलुक समृद्ध राष्ट्र बन्न सक्दैन ।