हेटौँडाः हेटौँडा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ । उपमहानगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानको सभाध्यक्षतामा तथा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले पालिकास्तरीय प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरुमा शुभकामना व्यक्त गर्नुहुँदै नगर पालिकाले खेलकुदको विकासका लागि विभिन्न कार्यक्रहरु गर्दै आएको बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले विद्यार्थीहरुको खेल कौशलता र कला प्रदर्शनी गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेकोमा हेटौंडा उपमहानगरपालिकालाई धन्यवाद व्यक्त गनुभयो । अध्यक्ष खड्गीले प्रतियोगितामार्फत् खेलाडीहरु जिल्लाबाट प्रदेश हुँदै राष्ट्रियस्तरीयमा छनोट हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लास्तरीय प्रतियोगिता प्रथम र द्वितीय हुने खेलाडीहरुलाई प्रदेशस्तरीय प्रतियोगितामा सहाभागी गराउन १५ दिन बन्द प्रशिक्षणमा राख्ने उहाँको भनाइ छ । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले प्रतियोगिता आयोजन गर्ने सम्पूर्ण जिम्मेवारी आधुनिक माविलाई दिएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रतियोगितामा उपमहानगरपालिकाभित्रका १९ वटा वडाका विद्यालयबाट करिब ६ सय जना विद्यार्थीहरुको सहभागिता रहेको छ । शुक्रबार भएको मार्चपास प्रदर्शनीतर्फ गोरक्षनाथ माध्यमिक विद्यालय प्रथम, सिद्धार्थ माध्यमिक विद्यालय द्वितीय र वंशगोपाल माध्यमिक विद्यालय तृतीय भएको छ । प्रदर्शनीतर्फ प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कराँते, एथ्लेटिक्स, तेक्वान्दो, उसु, कबड्डीलगायत खेलहरु हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ प्राप्त भएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ २०७६ सालबाट पालिकास्तरीय प्रतियोगिताको आयोजना हुँदै आएको छ । पालिकास्तरीय प्रतियोगिताका हरेक खेलमा प्रथम र द्वितीय हुनेलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराइनेछ ।