हेटौंडाः हेटौंडा–१८, हर्नामाडीमा रहेको ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले ५७ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रतिभासमेत प्रस्तुत गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिलकुमार बानियाँको विशिष्ट आतिथ्य र राष्ट्रिय परीक्षा बोर्ड, हेटौंडाका कृष्ण घिमिरे विशेष आतिथ्य रहेको थियो । विभिन्न विद्यालयका प्रधानाध्यापक, पार्टी प्रतिनिधि, टोल विकास संस्था प्रमुख, सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष, सहकारी अध्यक्ष, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विभिन्न संघसंस्था प्रमुखलगायत उपस्थिति रहेको थियो ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको थियो । विद्यालयले रक्तदान र विद्यार्थीहरुद्वारा विषयगत शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेको थियो । विद्यालयले १० र १२ को परीक्षामा शतप्रतिशत नतिजा दिलाउन सफल शिक्षक, उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यालयले सञ्चालन गरेको खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थी र विद्यालयको विभिन्न परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।