हेटौंडाः हेटौंडामा जारी दशौं संस्करणको हेटौंडा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलको ३ खेल भएको छ । हेटौंडा–४, हुप्रचौरमा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार क्वार्टरफाइनल चरणको ३ खेलहरु सम्पन्न भएको हो ।
प्रतियोगितामा जीत निकाल्दै बानेश्वर भेट्रान्स, काठमाडौंको किङ्गकम भेट्रान्स र फ्रिडम फाइटर भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा बानेश्वरले एबीसी भेट्रान्सलाई टाइब्रेकरमा ३–२ गोलले हराएको छ । निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको हो । म्यान अफ म्याच राजनलाल नेपाली घोषित भएका छन् ।
दोस्रो खेलमा काठमाडौंको किङ्गकम भेट्रान्सले बगरभाइ खलक भेट्रान्सलाई ३–० गोलले पराजित गरेको छ । किङ्गकमका लागि सञ्जय रानाले २० मिनेटमा गोल गरे । सञ्जय थापाले २ गोल गरेका थिए । यस्तै तेस्रो खेलमा फ्रिडम फाइटर भेट्रान्सले हेटौंडाको नागस्वती भेट्रान्सलाई २–० गोलले पराजित गरेको छ । फ्रिडमको जीतमा १३ मिनेटमा कृष्ण मालाकारले गोल गरेका थिए । तेजबहादुर गमालले ४१ मिनेटमा गोल गरे । म्यान अफ द म्याच उदयबहादुर गुरुङ घोषित भएका छन् ।
हेटौंडा भेट्रान्स र बौद्धस् भेट्रान्स बिच भएको चौथो कार्टरफाइनल खेल १–१ गोलको बराबरीमा रोकिएको छ । हेटौंडाको तर्फबाट दीपक लामाले १ गोल गरेका थिए । बौद्धबाट खेलको अन्तिम समयमा सुमन मोक्तानले गोल गरे ।
प्रतियोगितामा देशका विभिन्न स्थानका १५ वटा भेट्रान्स क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले १० हजार रुपैयाँ, सर्वोत्कृष्ट प्रशिक्षक, सर्वोत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले जनही ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।