हेटौँडा : हेटौंडा–११ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको आयोजना तथा ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हेटौंडा ११ मा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि एक दिवसीय सकारात्मक सोच अभिवृद्धि कार्यक्रम सञ्चालन भएको छ ।
हेटौँडा–११ सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षतामा शनिबार भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडाध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष कृष्ण प्रसाद खनाल, कोषाध्यक्ष महेन्द्र पाण्डे, आनन्द भैरव आधारभूत विद्यालय र शंकर ज्योति माध्यमिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक–अभिभावक संघका पदाधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी प्रहरी उपरीक्षक खड्काले प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई सानैदेखि असल आचरणयुक्त कुराहरु सिकाउने, बालबालिकाको कुरा सुन्ने, समय दिने, बालबालिकाको व्यवहार राम्ररी अध्ययन गर्नुपर्ने बताउनु भयो । मकवानपुर जिल्ला खासगरी हेटौँडामा बालबालिकाहरु लागूऔषध, साईबर अपराधमा फसेको प्रहरी प्रमुख खड्काले बताउनु भयो । वडाध्यक्ष जुना दाहालले समाजमा सकारात्मक सोच अभिबृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने र यस्ता कार्यक्रम गर्न वडा कार्यालयको सधै सहयोग रहने बताउनु भयो । कार्यक्रमको सहजीकरण मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले गर्नु भएको थियो ।