पदभार ग्रहण गर्नुहुँदै अर्जुन ढकाल ।

हेटौँडा : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका नवनियुक्त अध्यक्ष अर्जुन ढकालले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार कार्यालय प्रमुख डा. ललिता पाण्डेको सभाध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ढकालले पदभार ग्रहण गर्नुभएको हो ।

प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ को पहिलो संशोधन २०८१ को दफा २६ ‘क’ को उपदफा ३ बमोजिम मन्त्रिस्तरीय निर्णयबाट ढकाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रथम मुख्यमन्त्री पौडेलले आफ्नो पदीय दायित्व के हो भन्ने कुरा सबैले बुझ्नुपर्ने बताउनुभयो । बागमती प्रदेश सरकार स्थापना भएपश्चात् चिकित्सा क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको उहाँले बताउनुभयो ।

हेटौंडा उममहानगरपालिका कार्यालय अगाडि निर्माणाधीन १६ बेडको चिकित्सालयको भवनमा उपचारको प्रभावकारिता बढाउन अस्पतालको सबै संयन्त्र एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनु भयो । आयुर्वेद अस्पताल विकासका लागि सधंै साथ रहेको र भावी दिनमा पनि सहयोग हुने उहाँले बताउनुभयो ।

नवनियुक्त अध्यक्ष ढकालले अध्यक्ष सफल हुनको लागि कर्मचारीको सहयोग हुनुपर्ने र कर्मचारी सफल हुनका लागि अध्यक्षको साथ हुनुपर्ने बताउनुभयो । सबै पक्षको प्रयत्नबाट सेवाग्राही सन्तुष्ट हुने र सेवाग्राही सन्तुष्ट भएपछि सफल अस्पतालको रुपमा स्थापित हुने बताउनुभयो । आफू अध्यक्ष पदमा रहेसम्म अस्पतालको विपक्षमा नभई सदैब अस्पतालको हितमा लागिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष मधु बजगाईको पनि उपस्थिति रहेको थियो ।