बैठकमा सहभागी मकवानपुर जिल्ला व्याडमिन्टन संघका पदाधिकारी ।

हेटौँडा : हेटौँडामा दोस्रो संस्करणको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । हेटौंडा–११, थानाभ¥याङस्थित कभर्डहलमा चैत ८ र ९ गते जिल्लास्तरीय खुला तथा भेट्रान्स व्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

मकवानपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष विष्णु घिमिरे (ध्रूव) को अध्यक्षतामा बसेको कार्यसमितिको १६ औं बैठकले जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको संघका सचिव प्रलाद उप्रेतीले जानकारी दिनुभएको छ । २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा खुला र भेट्रान्स उमेर समूहगरी करिब एक सय जना खेलाडीको सहभागिता रहने अनुमान गरिएको सचिव उप्रेतीले बताउनुभयो ।

प्रतियोगितामा मकवानपुर जिल्लाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । स्थापना भएको करिब २ वर्षको अवधिमा दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको संघका सदस्य नरेन्द्र मुक्तानले जानकारी दिनुभएको छ । जिल्लामा व्याडमिन्टन खेलको विकास गर्ने, लुकेको खेलाडीहरुको प्रतिभालाई जगाउने, व्याडमिन्टनको नयाँ खेलाडी उत्पादन गर्ने, मकवानपुर जिल्लाको विभिन्न पालिकाका खेलाडीहरुबीच भातृत्व कायम गराउने र खेलाडीहरुको रुचि क्षमताको विकास गर्ने उद्देश्यले संघले कार्यसमिति बैठक बसेर प्रतियोगिताको मिति तय गरेको सदस्य मुक्तानले बताउनुभयो । जिल्ला व्याडमिन्टन संघका उपाध्यक्ष सुरेन्द्र प्रधानको संयोजकत्वमा हुने प्रतियोगिताका लागि ९ जनाको समिति गठन गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिता आयोजना गर्नका लागि हेटौँडा उपमहानगरपालिकाको मुख्य सहयोग रहने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि हेटौंडा बाहिरबाट आउने खेलाडीहरुका लागि खाना र बासको पनि व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजना गर्नका लागि ७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता हुने खेलाडीहरुलाई नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई प्रदान गरिने नगद पुरस्कारबारे पछि निर्णय गरिने संघले जनाएको छ । गत वर्ष सम्पन्न भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि खुलातर्फ हरि लामा र चेतन विश्वकर्माले जित्नुभएको थियो भने भेट्रान्सतर्फ रमेश रेग्मी र लक्ष्मण महर्जन विजेता बन्नुभएको थियो ।