विश्वविद्यालयको वेभसाइटको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडा : बागमती विश्वविद्यालयले औपचारिक रुमपा वेबसाईट सार्वजनिक गरेको छ । गत २०८० मा स्थापना भएको प्रदेश सरकारको सार्वजनिक विश्वविद्यालय ‘बागमती विश्वविद्यालय’ आफ्नो अफिसियल वेबसाईट सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामाले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विश्वविद्यालयको वेबसाईट सार्वजनिक गर्नुभएको हो । वेबसाईट उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले व्यवहारिक शिक्षालाई जोड दिएर सीप सहितका जनशक्ति उत्पादनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उत्पादनमुखी क्षेत्रमा लगानी गर्नेगरी प्रदेश सरकारले पाठ्यक्रमलाई व्यवहारिक ढंगबाट जोड्ने गरी विश्वविद्यालयलाई अघि बढाइएको उहाँले बताउनुभयो ।

प्रदेशलाई आवश्यक दक्ष जनशक्ति निर्माण गर्ने र उक्त जनशक्तिलाई स्वरोजगार क्षेत्रमा प्रयोग गर्नेगरी प्रयोगात्मक शिक्षामा जोड दिन विश्वविद्यालयको पाठ्यक्रम निर्धारणको काम भइरहेको उहाँको भनाई छ । आम विद्यार्थी र विश्वविद्यालय माथि चासो व्यक्त गर्नेहरु बीच अन्तरक्रिया गर्ने र विश्वविद्यालयका प्रगति तथा गतिविधि सार्वजनिक गर्ने उद्देश्य अनुसार वेबसाईट सार्वजनिक गरिएको विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुम राज सुवेदीले जानकारी दिनुभयो । आधुनिक प्रविधिको युगमा शिक्षालाई डिजिटल माध्यमबाट थप प्रभावकारी बनाउने उद्देश्य अनुसार स्थापित उक्त विश्वविद्यालयले ३ संकायका ११ विषयमा अध्यापनको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । विश्वविद्यालयले आगामी आर्थिक वर्षबाट विज्ञान प्रविधि, व्यवस्थापन र शिक्षा तथा सामाजिक संकायमा अध्यापनको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, वातावरण इन्जिनियरिङ र फोहोर व्यवस्थापन, नर्सिङ, बी फार्मा औषधि विज्ञान, जोखिम तथा बीमा व्यवस्थापन, व्यवसाय प्रशासन, सार्वजनिक क्षेत्र व्यवस्थापन, होटल व्यवस्थापन, कला स्नातक र कानून, एलएलबी, व्याचलर अफ लेजिस्लेटिभ ल, सूचना प्रविधि, बी.एड. शिक्षा लगायतका विषय अध्यापन गराउने तयारी गरेको उहाँले जानकारी दिनुभयो । विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलका अनुसार सैद्धान्तिक ज्ञानलाई व्यावहारिक प्रयोगसँग एकीकृत गरी समग्र शैक्षिक दृष्टिकोणलाई प्राथमिकता दिइएको छ । उच्च–गुणस्तरको शिक्षाप्रतिको हाम्रो प्रतिवद्धता अत्याधुनिक स्रोतसाधन, संकाय विकास र अनुसन्धानमा निरन्तर लगानीमा प्रतिबिम्बित रहने उहाँले स्पष्ट पार्नुभयो ।

विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि १३ वटा पाठ्यक्रम निर्माण गरी पठनपाठनको तयारी गरेको उहाँले बताउनुभयो । गुणस्तरीय, समावेशी र रोजगारमूलक उच्च शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढेको विश्वविद्यालयले नयाँ अवसर सिर्जना गर्नेगरी काम थालेको उहाँको भनाई छ । औपचारिक ज्ञान, अनुसन्धान, नवप्रवर्तन तथा व्यावसायिक शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने गरी छिट्टै नै विश्वविद्यालय अन्तर्गत आंगिक कलेजहरु समावेश गर्न सूचना प्रकाशन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।