सडकपेटीहरुमा असहाय, अपांग एवम् मानसिक सन्तुलन गुमाई बेवारिसे जीवन बिताइरहेकाहरुलाई सहारा दिने उद्देश्यले करिब एक दशकअघि मानवसेवा आश्रमको स्थापना भएको थियो । मानवसेवा आश्रमले आफ्नो उद्देश्यअनुरुप प्रभावकारी काम गर्दैै आएको छ । मानवसेवा आश्रमले आफ्नो सेवा हेटौंडाबाटै सुरु गरेको हो । हेटौंडा–९, लामसुरेधापमा आश्रमको केन्द्रीय कार्यालय रहेको छ । स्थापनाको करिब एक दशकमा आश्रमको सञ्जाल देशव्यापी बनिसकेको छ । देशका सातवटै प्रदेशमा आश्रम रहेका छन् । बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एउटा, कर्णाली प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी २१ ठाउँमा मानवसेवा आश्रम सञ्चालनमा छ । वि.सं २०८२ सालसम्म देशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अभियानमा आश्रम अघि बढिरहेको छ । मानवसेवा आश्रमले देशभरबाट सहयोगापेक्षी सडक मानवमुक्त गराउन विभिन्न प्रकारका कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको छ ।

मानवसेवा आश्रमले वर्षेनि मेची–महाकाली अभियान सञ्चालन गर्दै आएको छ । विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको राष्ट्रिय मेची–महाकाली अभियान २०८० सोमबार सम्पन्न भएको छ । सोमबार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच ४० दिने राष्ट्रिय मेची–महाकाली अभियान सम्पन्न भएको हो । मानवसेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको ४० दिने अभियानका क्रममा देशका विभिन्न भागबाट ३ सय २ जना सडक मानवको उद्दार गरिएको छ । ९० जना महिला, २०१ जना पुरुष, ७ जना बालक र ४ जना बालिकालाई अभियान टोलीले सडकबाट उद्दार गरेको हो । टोलीले हेटौंडाबाट २१ जना, रानीवनबाट ५८ जना, चितवनबाट १२ जना, ललितपुरबाट ५ जना, भक्तपुरबाट १ जना, कास्कीको हेम्जाबाट ३६ जना र छोरेपाटनबाट ३ जनालाई उद्दार गरेको छ । टोलीले गोरखाबाट ३ जना, वागलुङबाट १ जना, लमजुङबाट २ जना, रुपन्देहीको तिलोत्तमाबाट ३१ जना र सुख्खानगरबाट १ जनाको उद्दार गरेको छ । यस्तै, दाङबाट १४ जना, नेपालगञ्जबाट ८ जना, सर्लाहीबाट १३ जना, जनकपुरबाट २१ जना, वीरगञ्जबाट १० जना, विराटनगरबाट ५१ जना, सुर्खेतबाट ३ जना र धनगढीबाट ८ जना सडक मानवको उद्दार भएको छ ।

दशैँ तिहारलगायतको पर्वहरुमा कुनै पनि मानिसले सडकमा जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यका साथ देशव्यापीरुपमा मानवसेवा आश्रमले अभियान चलाउँदै आएको छ । अभियानका क्रममा भेटिएका सडकमा जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवहरुको उद्दार गर्ने गरिएको छ । उद्दार गरिएकामध्ये परिवार पत्ता लागेकालाई पारिवारिक पुनर्मिलन गराउने र अन्यलाई आश्रममा आश्रय दिने गरिएको छ । त्यसो त देशका विभिन्न स्थानमा रहेका मानवसेवा आश्रमले सहयोगापेक्षी सडक मानवको तत्काल उद्दार गर्ने गरेको छ । तर, मेची–महाकाली अभियानले आश्रमको पहुँचबाहिर रहेका स्थानका सडकमा बस्ने मानिसहरुको जीवन रक्षामा विशेष सहयोग पुगेको पाइन्छ । शहर बजारका सडकहरुमा कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षीहरुलाई आफ्नो आश्रममा आश्रय दिएर मावनसेवा आश्रमले मानवीयता प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याइरहेको छ ।

हरेक मानिसले सम्मानपूर्वक बाँच्न पाउने विश्वव्यापी मानव अधिकार र संविधानप्रदत्त मौलिक हक भए पनि सबै नेपालीले यो अधिकार पाउन सकेका छैनन् । फलस्वरुप देशका विभिन्न क्षेत्रका सडकमा सहयोगापेक्षी मानव भेटिने गरेको छ । पारिवारिक अवस्था, आर्थिक समस्या र मानसिक स्वास्थ्यका कारण सडकमा आइपुगेका मानिसलाई भेटिनेवित्तिकै तत्काल त्यसको उचित व्यवस्थापन गर्न मानवसेवा आश्रम र यसले सञ्चालन गरेको मेची–महाकाली अभियान सार्थक बन्दै गएको छ । आश्रमले यस्ता अभियानलाई निरन्तरता दिई थप प्रभावकारी बनाउन तीनै तहको सरकारसँग सहकार्य गर्नु आवश्यक छ । सरकारसँगको समन्वय र सहकार्यमा थप कार्यक्रम र अभियान सञ्चालन गर्न सकेमा सहयोगापेक्षी सडक मानवमुक्त देश बनाउन असम्भव नहोला । मानवसेवा आश्रमले व्यक्तिगत, संस्थागत र सरकारी सहयोगबाट सञ्चालन भइरहेका आश्रमको उचित व्यवस्थापन, विकास र विस्तारसँगै प्रभावकारी काम गर्न सकेमा मानवता प्रबर्द्धनमा सहयोग पुग्ने निश्चित छ ।