यतिबेला हेटौँडा उपमहानगरपालिकाका अधिकांश विद्यालयका विद्यार्थी बिदामा छन् । पालिकाको वार्षिक शैक्षिक तालिकाअनुसार नै विद्यालयमा पर्व बिदा दिइएसँगै विद्यार्थी बिदामा छन् । पालिकाको शैक्षिक तालिकामा बिदा भनिए पनि केही विद्यालय सुचारु छन् । विद्यालयमा पठनपाठन सुचारु हुनु सकारात्मक पक्ष हो । तर, पालिकाको शैक्षिक तालिकामा एकरुपता नहुनु सामान्य विषय भने होइन । अझ असामान्य पक्ष त पालिकाको शिक्षा विकास महाशाखाले शैक्षिक तालिकाअनुसारका क्रियाकलाप भए नभएको भन्ने पनि निश्चित गर्ने गरी नियमित नियमनको काम भइरहेको छैन ।
यतिबेला मुख्यतः विद्यार्थी बिदामा रहँदा विद्यार्थीले घर, परिवार र समुदायमा रहँदा सिक्ने अवसर पाएका छैनन् । अझ भन्ने हो भने उनीहरुलाई सिकाउने प्रयास हुन सकेको छैन । विद्यालयमा रहँदा कक्षाकोठामा शिक्षकले सिकाउँदा मात्रै सिक्नु विद्यार्थीको सिकाई कर्म हो भन्ने भ्रम नै ठूलो समस्या हो । घर, परिवार, समुदायमा बालबालिकाले धेरै कुरा सिक्न सक्छन्, सिक्नुपर्छ । बालबालिकालाई सही कुरा सिकाउने र गलत अभ्यासबाट टाढा राख्ने जिम्मेवारी परिवारका सदस्य र समुदायका हरेक व्यक्तिको हो भन्ने बुझ्न, बुझाउन जरुरी छ । यसरी परिवार र समुदायलाई सिकाउने जिम्मेवारी पनि विद्यालय र शिक्षककै हो ।
बिदामा रहेका विद्यार्थीहरु जोखिमपूर्ण क्रियाकलापमा पनि संलग्न छन् । हामीले हाम्रो घर, आँगन, टोललाई बालमैत्री र बालबालिकाका लागि सुरक्षित बनाउन सकेका छौं कि छैनौं भन्ने पनि ध्यान दिनुपर्छ । घर, आँगन, टोल, समुदायमा कतिपय जोखिमपूर्ण क्षेत्रमा बालबालिकाहरु खेलिरहेका छन् । जसले उनीहरु दुर्घटनामा पर्न सक्ने खतरा रहन्छ । यसतर्फ मुख्यतः अभिभावक नै जिम्मेवार हुनुपर्छ । विद्यालयले अभिभावकलाई पनि सचेत र सूचित गराउन सकेको भए बालबालिकालाई घर, परिवार र समुदायमा रहँदा पनि धेरै कुरा सिक्ने सक्ने थिए । अहिलेको जस्तो लामो बिदामा बालबालिकाले अझ धेरै सिक्न सक्थे । निरन्तर सिकाई अभ्यासले बालबालिकालाई विद्यालयमा पनि अझ प्रभावकारी सिकाईमा सहभागी हुन प्रोत्साहित गर्ने थियो ।
पालिकाको शिक्षा विकास महाशाखाको काम विद्यालयको नियमित प्रशासनिक क्रियाकलापमा सहजीकरण र नियमन गर्ने मात्रै जिम्मेवारी हो भन्ने बुझाई छ । शैक्षिक क्रियाकलाप र सिकाई सहजीकरणका बहुआयामिक पक्षलाई पालिकाका शिक्षा शाखाका अधिकारीले बुझ्नै सकेका छैनन् । आजको समयमा पनि पालिकाका शिक्षा शाखाहरु परम्परागत प्रशासनिक अड्डाको एउटा हिस्सा भन्दा माथि उक्लन सकेको छैन । शिक्षा शाखाले विद्यालयका शिक्षकलाई रचनात्मक र गुणात्मक बन्न प्रेरित गर्दै अभिभावक शिक्षामा जोड दिने हो भने घर, परिवार र समुदाय बालमैत्री, सिकाईमैत्री बन्दै जाने अवसर रहन्थ्यो । अझै ढिलो भएको छैन । लामो बिदा मात्रै होइन, हरेक दिन बालबालिकाले विद्यालय, घर, परिवार र समुदायमा सिक्ने वातावरण बनाउने हो भने हरेक विद्यार्थीले हरेक दिन नयाँ ज्ञान आर्जन गर्न सक्ने थिए । आजको प्रतिस्पर्धी विश्वमा आफूलाई अब्बल बनाउने, आफ्नो समाजलाई बुझ्नै समाजलाई उल्लेखनीय योगदान गर्न सक्ने सक्षम नागरिक बन्ने आधार विद्यालयमै बनाउने थिए । तसर्थ जहाँकहीँ विद्यार्थीले, बालबालिकाले सिक्ने अवसरका लागि पहल गरौं ।