बजार अनुगमन गर्दै प्रशासन नेतृत्वको टोली ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाईमा मंगलबार पनि हेटौँडा बजारका ६ वटा पसलको अनुगमन गरिएको छ । केहिदिन यता नियमित बजार अनुगमन भइरहेको छ ।

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय मकवानपुर मकवानपुर, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधि सहितको टोलीद्वारा हेटौंडा बजार क्षेत्रमा रहेका पसलको अनुगमन गरेको हो ।

अनुगमन टोलीले ६ वटा पसल तथा व्यवसायको अनुगमन गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा २ वटा पसलमा २८३ बोरा चिनी मौज्दात देखिएकोले टोलीले चिनीलाई बजारमा नियमित रूपमा विक्री वितरण गर्न निर्देशन दिएको छ । पसल व्यवसायको उद्देश्य विपरित खाद्यान्न सामग्री विक्री वितरण गर्ने पसल र बिल बिजक नराखेको पसललाई क्रमशः १० हजार र ५ हजार जरिवाना गरेको छ ।

अनुगमनका क्रममा एउटा पसलबाट ७ हजार ९ सय ३० रुपैयाँ बराबरको म्याद नाघेका सामग्रीहरू नष्ट गरेको छ । प्रमुख चाडपर्व लक्षित गरेर स्थानीय प्रशासनले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा बजार अनुगमन गरिरहेको छ । बजारमा कृत्रिम अभाव नहोस्, कालोबजारी नहोस्, सर्वसाधारण नठगिउन् भनेर अनुगमन गर्दै आएको प्रशासन कार्यालयको भनाइ छ ।