हरेक क्षण, हरेक घण्टा, हरेक दिन मृत्युका खबरले सम्बन्धित समूहलाई मर्माहत बनाइरहेको हुन्छ । मृत्यु निश्चित छ । तर, अल्पायुमै हुने मृत्यु, दुर्घटनाबाट हुने मृत्यु अपुरणीय हुन्छ । यो पृथ्वीमा जन्मलिने हरेकले औसत आयु पूरा गर्न पाउनुपर्छ । यो नागरिकको नैसर्गिक अधिकार पनि हो । तर, हरेक दिन हामी मृत्युका समाचारलाई स्थान दिन बाध्य छौं । मृत्युको खबर हाम्रा लागि नियमित समाचार मात्रै नभएर भोलिका दिनमा यस्ता समाचार सम्प्रेषण गर्नुपर्ने अवस्था नआओस् भनी सरोकारवालालाई सचेत गराउने प्रयास पनि हो । तर, यसतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन ।

कात्तिक महिनाको करिब एक साताको अवधिमा काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लामा मात्रै भवितव्यमा परी ११ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । यस अवधिमा मकवानपुर जिल्लामा मात्रै ५ जनाले आत्महत्या गरेका छन् । यी सबै घटनामा सरोकारवालाको ध्यान पुग्न सकेको भए मृत्युको मुखबाट बचाउन सक्ने अवस्था रहन सक्थ्यो । दुर्घटनामा परी घाइते हुनेको संख्या पनि उल्लेख्य रहने गरेको छ ।

सामान्यतः आफ्नो परिचय भए भन्दा टाढाको मृत्युप्रति हाम्रो ध्यान जाँदैन । जब आफूसँग परिचित व्यक्तिको मृत्यु हुन्छ तब मर्माहत हुन्छौं । अझ मृतकसँग आश्रित परिवारमा पर्ने चोट र बोझ कल्पना समेत गर्न कठिन हुन्छ । यस्तो परिस्थितिमा मृत्युलाई रोक्न, एउटा जीवन बचाएर उसँग आश्रित समूह र सिंगो समाजलाई नै शोकमा पर्न नदिन सरोकारवालाले गम्भीर भएर ध्यान दिनु आवश्यक छ । दसैंको अवधिको घटनालाई मात्रै हेर्ने हो भने पनि दुर्घटनामा भएका मृत्युलाई रोक्न राज्य, नागरिक समाज र हरेक व्यक्तिलाई जिम्मेवार बन्न व्यापक प्रचारात्मक कार्य जरुरी छ ।

भवितव्यका घटनामा पनि आवश्यक सतर्कता जरुरी छ । मकवानपुरकै भीमफेदी गाउँपालिकामा एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ । परिवार र समाजमा वृद्धवृद्धाको उचित स्याहार र संरक्षणमा परिवार र समाजका हरेक सदस्यले ध्यान दिने हो भने मृत्युको जोखिम घटाउन सकिन्छ । यस्तै आत्महत्याका घटना अहिले सामान्य जस्तै भइरहेको छ । कुनै अपरिचित व्यक्तिले आत्महत्या गरेको घटना त सहजै सुन्न सकिएला तर, आफूले चिनेको व्यक्तिले आत्महत्या गरेको घटना सुन्न र सहन सकिन्न । आत्महत्याका अनेक कारण हुन सक्छन् । आत्महत्या आफैंले आफैंलाई नियन्त्रणमा राख्न नसक्नु हो । यावत समस्याका बीच पनि आत्महत्या समाधान होइन भन्ने बुझ्न, बुझाउन परिवार र समाजका सदस्यले आपसमा छलफल, साथ र सहकार्यको प्रयास गर्न जरुरी छ ।

यस्ता समग्र घटनालाई हेरेर तीनै तहका सरकार जिम्मेवार भएर समस्या समाधानमा अग्रसर हुनु अनिवार्य छ । जीवन अमूल्य छ भन्ने भावलाई बुझेर सरकारले अगुवाई गर्दै सिंगो समाजलाई नै क्रियाशील गराउने हो भने मृत्युको दरलाई न्यून भन्दा न्यून तहमा ल्याउन सकिन्छ । तसर्थ हरेक दिनको मृत्युको समाचारलाई न्यूनीकरण गर्न सरोकारवालाको जिम्मेवारीपूर्ण भूमिकाका लागि पनि राज्यले नै सहजीकरण गर्नु आवश्यक छ । यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जान जरुरी छ । मानवअधिकार आयोगले यो विषयमा सरकारको ध्यानाकर्षण गराउन सक्नुपर्छ । हरेक नागरिकको उच्चतम आयु, सुख, समृद्धि, प्रगति र सन्तुष्टिका लागि राज्यको प्रयास पर्याप्त रहनुपर्छ । निश्चित मृत्युलाई, पूर्ण आयुको जीवन भोगाईपछिको मृत्युलाई सहजै स्वीकार्ने र नयाँ पुस्ताले हरेकको जीवनबाट सिक्ने, बुझ्ने र आफ्नो समाजमा उल्लेखनीय योगदान गर्ने अवस्था सुनिश्चित हुनुपर्दछ ।