सडकबाट उद्दार गरिएका सहयोगापेक्षीहरुको स्याहार गर्दै मानवसेवा आश्रमका अभियन्ताहरु ।

हेटौंडाः हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमले सुरु गरेको राष्ट्रिय मेची महाकाली अभियानमा एक सय ३२ जना सहयोगापेक्षी सडक मानवको उद्दार गरेको छ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको ४० दिने अभियानअन्तर्गत पहिलो १५ दिनसम्ममा विभिन्न जिल्लाबाट एक सय ३२ जनाको उद्दार गरिएको मानवसेवा आश्रमका प्रदेश संयोजक होमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

पूर्वको मेचीबाट सुरु भएको अभियान सोमबार दाङको घोराही, तुलसीपुरमा पुगेको छ । अभियान मंसिर ४ गते नेपालगन्ज पुगेर समापन हुने पौडेलले बताउनुभयो । उद्दारको क्रममा कोशी प्रदेशबाट ४६ र मधेश प्रदेशबाट ४७ जना सहयोगापेक्षीको उद्दार गरिएको छ । यस्तै, बागमती प्रदेशको हेटौँडा र चितवनबाट १० जनाको उद्दार गरिएको छ भने गण्डकी प्रदेशको नवलपुरबाट ९ जनाको उद्दार गरिएको छ । यसरी बागमती र गण्डकी प्रदेशको केही स्थानलाई मात्र समेट्दै अभियान्ताहरु गत शुक्रबार लुम्बिनी प्रदेश प्रवेश गरेका थिए ।

अभियन्ताहरुले लुम्बिनी प्रदेशको रुपन्देही, भैरहवा र कपिलवस्तुबाट १२ जनाको उद्दार गरिसकेका छन् भने अझै पनि लुम्बिनी प्रदेशमा उद्दार कार्य जारी नै छ । उद्दार हुनेमा ३८ जना महिला, ९१ जना पुरुष, ३ जना बालिका र १ जना बालक रहेको पौडेलले बताउनुभयो । अभियन्ताको टोली अहिले नेपालगंजतर्फ जाँदै गरेको संयोजक पौडेलले बताउनुभयो ।

२०७७ सालदेखि नै यो अभियान सुरु गरेको र अहिलेसम्म निरन्तरता दिँदै आइरहेको संयोजक पौडेलले बताउनुभयो । दशैँ तिहारलगायतको पर्वहरुमा कुनै पनि मानिसले सडकमा जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यका साथ देशव्यापीरुपमा अभियान चलाइएको उहाँको भनाइ छ । मेची महाकाली अभियानले सडकमा बस्ने मानिसहरुको जीवन रक्षामा सहयोग पुग्ने उहाँले बताउनुभयो ।