हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले आन्तरिक आय वृद्धि गर्न वडागतरुपमा नै व्यवसाय दर्ता घुम्ती शिविर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले व्यवसायीहरुलाई स्थानीय तहको स्वामित्वमा ल्याउन र नगरको आय बढाउन सोमबारबाट शिविर सञ्चालनमा ल्याएको हो ।
१९ नम्बर वडा कार्यालयबाट व्यवसाय दर्ता शिविरको सुरुवात गरिएको छ । १९ नम्बर वडामा व्यवसाय दर्ता शिविर ३ दिनसम्म चल्ने छ । नगर भित्र ३, ४, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ वडाहरूमा शिविर संचालनमा ल्याउने हेटौंडा उपमहानगरपाकिलाका राजश्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो । १, २ र १० नम्बर वडाका व्यवसायीहरुले आफ्नै वडा कार्यालय वा नगरपालिकामा गएर व्यवसाय दर्ता गराउन सक्ने उहाँले बताउनुभयो । शिविर पुस मसन्तसम्म सञ्चालन हुनेछ । उपमहानगरपालिकाले व्यवसायी, उद्यमी, संस्थागत विद्यालय, निजी कम्पनि, व्यापार–व्यवसाय लगायतका विभिन्न आयमूलक काममा संलग्न फार्महरुलाई व्यवसाय दर्ता गर्न आग्रह गरेको छ ।
सोमबार १९ नम्बर वडामा नगरप्रमुख मीना कुमारी लामाले व्यवसाय दर्ता गर्ने व्यवसायीलाई प्रमाणपत्र वितरण गरेर शिविरको उद्घाटन गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष नरनाथ सुवेदी, हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, राजश्व शाखाका प्रमुख श्यामकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
नगरपालिकामा हाल १३ हजार तीन सय ९२ वटा व्यवसाय दर्ता भएका छन् । नगरपालिकाले गत वर्ष निकालेको विवरण अनुसार ३ हजार ६ सय ८५ वटा व्यवसाय पालिकामा दर्ता नगरी संचालनमा आएको पाइएको बताउँदै श्रेष्ठले यस शिविरमा ५० देखि ७५ प्रतिशत व्यवसायीलाई नगरको दायरामा ल्याउने बताउनुभयो । व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा दर्ता गरी संचालनमा ल्याएकाहरुलाई ३ वर्षसम्मको मात्रै कर लिएर दर्ता गरिएको छ ।