नेपालमा हरेक वर्ष भदौ २० गते मानव वेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउने गरिएको छ । मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनचेतनामा वृद्धि गर्ने उद्देश्यले २०६४ सालबाट मानव बेचविखन विरुद्धको दिवस मनाउन थालिएको हो । यस वर्ष मानव बेचबिखन विरुद्धको १७ औं राष्ट्रिय दिवस बुधबार मनाइएको छ । सार्क राष्ट्रहरुबीच यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन गर्ने कार्यको बिरुद्धमा आपसी सहयोग तथा ऐक्यबद्धता जनाउन सार्कको ११ औँ सम्मेलनबाट पारित ‘बेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन बिरुद्धको सार्क महासन्धि २००२’लाई पारित गरिएको थियो । उक्त महासन्धिलाई नेपालको तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २० गते अनुमोदन भएपछि सोही दिनको स्मरणमा मानव बेचविखन विरुद्धको दिवस मनाउने निर्णय भएको हो । २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार २०६४ सालको भदौ २० गतेबाट मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाउन थालिएको हो । मानव बेचविखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस भने हरके वर्ष जुलाई ३० का दिन मनाउने गरिएको छ ।
कुनै पनि मानिसलाई प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई उसको इच्छाविपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचविखन भन्ने गरिन्छ । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र/धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको पाइन्छ । विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचविखनको रुप बिकराल बनेको छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवम् सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । अन्तर्राष्ट्रियरुपमै चुनौती बनिरहको मानव बेचविखनको समस्याबाट नेपाल पनि अछुतो छैन । नेपालमा मानव बेचिवखनलाई गम्भीर फौजदारी अपराध मानिन्छ । नेपालको संविधान, मुलुकीय अपराध संहिता २०७४, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र नियमावली २०६५, बालबालिकासम्बन्धी ऐन २०७५, बालश्रम निषेध र नियमन गर्ने ऐन २०५६, वैदेशिक रोजगार सम्बन्धी ऐन र नियमावली, विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताले मानव बेचबिखनलाई गम्भीर फौजदारी अपराध मानेको छ ।
नेपालमा हुने गरेका विविध आपराधिक घटनामध्ये मानव बेचविखन पनि अग्रपंक्तिमा रहेको छ । वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या वृद्धि हुँदै जाँदा बेचविखनको जोखिममा पर्नेहरु उत्तिकै बढिरहेका छन् । पर्याप्त जानकारीबिना र गैरकानुनीरुपमा विदेशिनेहरु बढीजसो यस्तो समस्यामा पर्ने गरेको पाइन्छ । मानव बेचबिखनविरुद्ध सरकारी तथा गैरसरकारी संघसंस्था क्रियाशील भए पनि बेचविखनको क्रम रोकिएको छैन । मानव बेचविखन जटिल समस्या बन्दै गइरहेको भए पनि यसको न्यूनीकरणका लागि पर्याप्त कार्यक्रम हुन सकेको छैन । शिक्षाको माध्यमबाट मानव बेचविखन विरुद्ध चेतना जागृत गर्दै उपलब्ध स्रोत साधनको समानुपातिक वितरण गरेर सबै मानिसलाई आर्थिक रुपमा सशक्त बनाउन सकेमा मानव बेचविखन न्यूनीकरण गर्न सकिन्छ ।
यस वर्ष सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखन निर्मूलन भन्ने नाराका साथ मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाइएको छ । यो दिवस मनाइरहँदा यसबाट पीडित÷ प्रभावितहरुलाई उद्दार, संरक्षण, पुनस्र्थापना तथा पुनःएकीकरणको कार्यलाई व्यवस्थित गर्न प्रभावकारी कदम चाल्नु आवश्यक छ । मानव बेचविखन न्यूनीकरणमात्रै होइन, अन्त्य नै गर्नु आवश्यक छ । कुनै पनि कारण वा तरिकाबाट मानवको बेचविखन हुनु मानव जातिकै लागि दुर्भाग्य हो । आफूलाई सचेत र सबैभन्दा बुद्धिमान जाति मानिने मानिसले मानिसलाई नै बेच्नु भनेको आफूले आफैंलाई कलंकित बनाउनु हो । मानव बेचविखन अन्त्य गर्न सबै देशका सरकार प्रतिबद्ध बन्नु आवश्यक छ ।