मकवानपुरगढी गाउँपालिका–६ का किसान बीर बहादुर लुङ्बाले मलको रुपमा प्रयोग गर्न पशुमुत्र संकलन गर्न बनाएको ट्यांकी ।

नेपाल सरकारले नेपाली कृषकहरुका लागि रासायनिक मल अनुदानमा उपलब्ध गराईरहेको भएपनि वर्षेनी रासायनिक मलको अभाव भोग्नुपरिरहेको यथार्थ हामी सामु छर्लङ्ग छ । कृषकहरुलाई आवश्यक पर्ने रासायनिक मल युरिया, डिएपी र पोटास मुख्य सिजनमा समयमै उपलब्ध हुन सकिरहेको छैन । हाल मकैबालीमा थप मलको रुपमा युरिया मल दिनुपर्नेमा पर्याप्त मात्रामा युरिया मल उपलब्ध भईरहेको छैन । तसर्थ युरिया मलको विकल्पमा गाईवस्तुको पिसावलाई संकलन गरी पिसाव मलको रुपमा प्रयोग गर्न सकेमा केही हदसम्म युरिया मलको अभावलाई कम गर्न सकिने तथ्य विभिन्न अध्ययन, अनुसन्धानबाट प्रमाणित भईसकेको छ ।

चन्द्रकान्त चौधरी

कुनै पनि जनावरको पिसावलाई मलको रुपमा प्रयोग गरिन्छ भने त्यसलाई पिसाव मल भनिन्छ । पिसाव मल नाईट्रोजनको राम्रो श्रोत भएकोले युरिया मलको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । हालको गोठेमल व्यवस्थापनमा गाईवस्तुको अधिकांश पिसाव चुहेर, बगेर वा घाममा सुकेर खेर गएको पाईन्छ । एउटा गाई वा भैंसीबाट प्राप्त हुने नाईट्रोजन मध्ये पिसावमा गोबरको भन्दा झण्डै दोब्बर हुन्छ । जस्तैः एउटा गाईलाई १०० भाग नाईट्रोजन खुवाइयो भने २० भाग त्यसको शरीरको पोषणमा प्रयोग हुन्छ, ८० भाग त्यसको पिसाव र गोबरबाट बाहिर निस्कन्छ ।

अब गोबर र पिसावमा निस्कने ८० भागमध्ये ५२ भाग पिसावमा र बाँकी २८ भाग गोबरमा रहन्छ । यसरी हेर्दा गोबरभन्दा पिसाव बाली खाद्यतत्वको हिसाबले बढी महत्वको छ साथै पिसावमा नाईट्रोजन बाहेक फस्फोरस, पोटास लगायत बालीबिरुवालाई आवश्यक अन्य खाद्यतत्वहरु पाईन्छ । तर अधिकांश पिसाव त्यसै बगेर वा चुहिएर खेर गईरहेको हुन्छ जसलाई हाम्रा कृषकहरुले वास्ता गरेको देखिँदैन ।

यसरी खेर गईरहेको गाईभैंसीको पिसाव संकलन गरी मलको रुपमा प्रयोग गर्न सकिन्छ । गाईभैंसीको पिसाव संकलन गर्नको लागि गोठलाई हल्का ओरालो पारेर बनाउनु पर्दछ जसमा पिसाव संकलन गर्ने कुलेसो अनिवार्य रुपमा बनाउनु पर्दछ । उक्त कुलेसोबाट सिधै वा पाईपको माध्यमबाट एउटा ड्रम वा खाल्डोमा पिसाव जम्मा गर्न सकिन्छ । संकलन भएको पिसावलाई तुरुन्त प्रयोग गर्न मिल्दैन । तुरुन्त प्रयोग गर्दा किरा लाग्ने सम्भावना हुन्छ । तसर्थ यसलाई कम्तीमा १५ दिन पाक्न दिएपछि मात्र प्रयोग गर्न सकिन्छ ।

पिसाव प्रयोग गर्दा कलिलो बोटको लागि एक भाग पिसाव मलमा दश भाग पानी मिसाएर तथा हुर्केको बोटको लागि एक भाग पिसाव मलमा ५ भाग पानी मिसाएर बोट र जरामा पर्ने गरी छर्नु पर्छ । ७–१० दिनको फरकमा बाली अवधीभर निरन्तर पिसाव मल दिन सके बाली बिरुवा निकै सप्रिन्छ र रोगकीराको प्रकोप समेत कम हुन्छ । पिसावमा भएको नाईट्रोजना युरियाको रुपमा युरियाको रुपमा उपलब्ध हुन्छ । यसले बालीबिरुवालाई सवैभन्दा बढी आवश्यक पर्ने नाईट्रोजन खाद्यतत्व तत्काल उपलब्ध गराउँछ । तसर्थ पिसावमा रहेको नाईट्रोजनको संरक्षण गर्न उचित तरिकाले संकलन तथा प्रयोग गर्न जरुरी छ ।
(लेखक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत हुनुहुन्छ ।)