हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५ स्थित सानोपोखरा बाटिकामा आज बिहान भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । टोल विकास संस्था वडा समन्वय समिति र नेपाल रेडक्रस सोसाइटी पिप्ले–पोखरा उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

जारी लकडाउनका कारण रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भइरहेका बेला रक्तदान कार्यक्रम भएको हो । संकलित रगतका कारण मागअनुसार आपूर्ति व्यवस्था मिलाउन सहज हुने रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो । टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले पनि रक्तदान गर्नुभएको थियो । लकडाउनका कारण रक्तदान कार्यक्रम आयोजना गर्न समेत समस्या छ । यसअघि बैशाख २६ गते रक्तदान कार्यक्रम भएको थियो ।