सहकारीका व्यवस्थापक राजन श्रेष्ठ (दायाँ) लाई बीमालेख हस्तान्तरण गरिँदै ।

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए उपचारका लागि बीमा कम्पनिमार्फत बीमा रकम प्राप्त हुने भएपछि कोभिड–१९ स्वास्थ्य बीमा गर्ने बढेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक उल्लेख्य रुपमा बढेसँगै बीमामा आकर्षण बढेको बीमा कम्पनिका अधिकारीको भनाइ छ । देशभरका २० वटा निर्जीवन बीमा कम्पनिको साझा कोष रहने गरी सरकारले कोभिड–१९ बीमा कार्यक्रम लागु गरेको छ । मकवानपुर जिल्लामा एउटै कम्पनिले २ हजार २ सयभन्दा बढीको संख्यामा कोभिड–१९ बीमा गराएका छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएलगत्तै एक लाख रुपैयाँ रकम पाउने व्यवस्था गरिएसँगै बीमा गर्न आउने सर्वसाधारणको चासो बढेको सिद्धार्थ इन्स्योरेन्स कम्पनिको हेटौंडा शाखाकी प्रमुख मुना पौडेलले बताउनुभयो । कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेसँगै बीमा गर्न आउने बढेको उहाँको भनाइ छ । सरकारले एक लाख रुपैयाँ बराबरको बीमा गर्दा ६ सय रुपैयाँ बीमाशूल्क लाग्ने व्यवस्था गरेको छ । सबै कम्पनिले समान दरमा बीमालेख विक्री गर्नुपर्नेछ ।

हेटौंडास्थित शिखर इन्स्योरेन्स कम्पनिका शाखा प्रबन्धक प्रमोद पोखरेलले कोभिड–१९ बीमाको साझा कोष भएकोले सबै कम्पनिले संस्थागत सामाजिक उत्तरदायित्व र आफ्नो कम्पनिको साख वृद्धिका लागि मात्रै भए पनि सक्रिय भएर बीमा लेख विक्री गराउन क्रियाशील रहेको बताउनुभयो । कम्पनिका लागि फाइदा भन्दा पनि भोलिका दिनमा कोरोना संक्रमित भए ती व्यक्तिको उपचारका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित हुने गरी सरकारले ल्याएको बीमा कार्यक्रमबाट कुनै पनि कम्पनिलाई आर्थिक लाभको अवसर भने नभएको उहाँको भनाइ छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनिका हेटौंडा शाखा प्रबन्धक अर्जुन सुवेदीका अनुसार बीमा शूल्क न्यूनतम हुनु र रोगको संक्रमण भएलगत्तै बीमा रकम पाउने अवस्था हुनुले आकर्षण बढेको बताउनुभयो । कोभिड–१९ बीमा कार्यक्रममा व्यक्तिलाई भन्दा संस्थालाई आकर्षित गरी समूह–समूहमै बीमा गराउने क्रम बढ्दो छ । शिखर इन्स्योरेन्सले बिहिबार मकवानपुरको थाहा नगरपालिकास्थित एक सहकारी संस्थाका १७३ जना सेयर सदस्यको एकैपटक बीमा गराएको छ ।