हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपभोक्तालाई दैनिक २ करोड ५ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको छ । बोर्डद्वारा वितरित करिब २४ हजार धारामार्फत् दैनिक सरदर ७ देखि ८ घण्टा खानेपानी वितरण गर्दै आएको बोर्डका सूचना अधिकृत सञ्जय न्यौपानेले जानकारी दिनुभएको छ ।
हेटौंडा उपमहानगरको वडा नम्बर ११, १२ र १३ मा हालसम्म बोर्डको सेवा विस्तार नभएता पनि वडा नम्बर ११ को थानाभ¥याङ क्षेत्रमा यसै आर्थिक वर्षदेखि खानेपानीको पूर्वाधार निर्माण गरिने भएको छ । यस्तै, वडा नम्बर १३ मा सञ्चालित खानेपानी योजना बोर्डमा हस्तान्तरण गर्ने क्रममा रहेको न्यौपानेले बताउनुभयो ।
बोर्डले एउटा सतही मुहान तथा ३५ वटा भूमिगत स्रोतबाट हेटौंडा उपमहानगरपालिका क्षेत्रमा खानेपानी संकलन गरी वितरण गरिरहेको छ । उपमहानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० को सबै क्षेत्रमा बार्डले खानेपानी वितरण गरिरहेको छ । यस्तै, वडा नम्बर १, ३, १४, १५, १६, १७, १८ र १९ को आंशिक क्षेत्रमा खानेपानी वितरण गरिरहेको सूचना अधिकृत न्यौपानेले जानकारी दिनुभयो । बोर्डले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामध्ये १६ वटा वडामा बसोबास गर्ने करिब १ लाख ६० हजार बासिन्दालाई नियमित खानेपानी उपलब्ध गराउँदै आइरहेको उहाँले बताउनुभयो ।
नगरबासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीयरुपमा एउटै शुल्कमा खानेपानी उपलब्ध गराउने उद्देश्य बोर्डको छ । हेटौंडा उपमहानगरपालिकाले गत वर्षको भदौ महिनादेखि १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेपछि खानेपानी बोर्डमा उपभोक्ता समितिहरु हस्तान्तरण गर्ने क्रम तिब्ररुपमा बढिरहेको छ ।
बागमती प्रदेश सरकार र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा हेटौंडा–१६ को त्रिशुले, हेटौंडा–८ को कमाने र हेटौंडा–९ को लामसुरेमा पाइपलाइन विस्तारको कार्य भइरहेको छ । खानेपानी तथा सरसफाई डिभिजन १ कार्यालयबाट बोलपत्रमार्फत् बोर्डको ३० प ्रतिशत लागत सहभागितामा हेटौंडा–८, ओमनगर र हेटौंडा–६, गौरीटारमा डिप ट्युबेल निर्माण कार्य सम्पन्न गरेको छ । यसैगरी हेटौंडाको वडा नम्बर ४, ५, ६, ७, १४ र १५ मा खानेपानी पाइपलाइन सुधार तथा विस्तारको कार्य भइरहेको सूचना अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
गत जेठमा लामो समय पानी नपरेपछि हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्याप्त खानेपानी वितरण गर्न असहज भएपछि बोर्डले भीमफेदी गाउँपालिका–१, सामरीमा नेपाली सेनाले उपलब्ध गराएको जग्गामा समवेल निर्माण गरी प्रतिदिन करिब २० लाख लिटर पानी संकलन गरेको उहाँले बताउनुभयो । सन् २०३० सम्म सबैका लागि पर्याप्त खानेपानी उपलब्ध गराउने उद्देश्यले बोर्डले योजनाबद्ध ढंगबाट काम गरिरहेको उहाँको भनाइ छ ।
संघीय सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा वडा नं १६ को पूरै क्षेत्र र वडा नं ११ को थानाभ¥याङ, सिमलटारमा करिब ४ हजार ५ सय घरधुरीमा खानेपानी उपलब्ध गराउन आवश्यक संरचना निर्माण भइरहेको छ । वडा नं ६ र १७ को गैरीगाउँ, चुच्चेखोला, चौघडा क्षेत्रका लागि पानीट्याङ्की निर्माण, मेन तथा शाखा पाइपलाइन बिस्तार कार्य भइरहेको छ । यस्तै, वडा नं ९ र नगरको मुख्य बजार क्षेत्रमा खानेपानीको स्रोत वृद्धिका लागि कुखरेनी खोलामा डिप बोरिङ निर्माण गरी बेतखोल्ची डाँडामा पानीट्याङ्की निर्माण कार्य, विभिन्न स्थानमा मेन पाइप बिच्छ्याउने र पानी शुद्धिकरण कार्य गर्न खानेपानी तथा सरसफाई विभाग काठमाडौंबाट विस्तृत अध्ययन सम्पन्न भई स्रोत सुनिश्चितताका लागि ४ महिनाअघि अर्थ मन्त्रालयमा आवश्यक कागजात पठाइएको छ ।
गत आर्थिक वर्षमा बोर्डले १७ करोड २० लाख रुपैयाँ आम्दानी गरी १५ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ । बोर्डले १८ करोड ८२ लाख रुपैयाँ आय तथा व्यय गर्ने अनुमान गरेकोमा आयतर्फ ९१ प्रतिशत र व्ययतर्फ ८४ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा बोडैले १२ करोड ४ लाख ३० हजार रुपैयाँ खानेपानी महशुल संकलन गरेको छ । उक्त वर्षमा ३२ लाख १६ हजार रुपैयाँ खानेपानी महशुल बक्यौता राखेको बोर्डले ८२ लाख ४० हजार रुपैयाँ अग्रिम महशुल संकलन गरेको छ ।