साङ्केतिक तस्बिर गुगल ।

हेटौंडाः मकवानपुरमा आत्महत्या गर्नेको संख्या उलेख्यरुपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्र जिल्लाभर २२ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार साउन महिनामा जिल्लाभर १४ जना पुरुष र ८ जना महिलाले आत्महत्या गरेका छन् । यो संख्या कायम रहने हो भने गत आर्थिक वर्ष २०७९/०८० मा भन्दा चालु आर्थिक वर्षमा दोब्बर पुग्ने अनुमान गर्न सकिन्छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा एक सय ५५ जनाले आत्महत्या गरेका थिए ।

बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार बढ्दो आत्महत्या रोकथामका दिगो उपाय सोच्नुपर्ने आवश्यकता रहेको छ । अहिले आत्महत्या गर्नेहरु प्रायः मानसिक रोगको समस्यामा परेका पाइएको उहाँले बताउनुभयो । विभिन्न कामहरुमा असफल हुँदा र गरिबीका कारण मानिसहरु मानसिक रोगको सिकार बन्ने र आत्महत्या बाटो रोज्ने उहाँको भनाइ छ ।

प्रहरीको काम विभिन्न सचेतना कार्यक्रमहरु गर्नेमात्र रहेकाले अन्य काम भने गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँले गरिबी न्यूनीकरण गर्ने खालका नीति तथा कार्यक्रम बन्नुपर्ने बताउनुभयो । आत्महत्या न्यूनीकरणका लागि सरोकारवाला संघसंस्थाहरु सबैले सचेनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । सचेतनाका कार्यक्रमलाई विद्यालय तहदेखि नै सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई सचेतना गराएमा घरपरिवार र टोल समुदायमा आत्महत्या केही हदसम्म न्यूनीकरण हुने उहाँको भनाइ छ ।