महिला जनप्रतिनिधिको उल्लेख्य संख्या वडा सदस्यमै सीमित छ । वडा सदस्य निर्वाचित कतिपय महिला जनप्रतिनिधिलाई आफ्नो काम, कर्तव्यको विषयमा समेत जानकारी छैन । पालिका र वडाले पनि महिला जनप्रतिनिधिको सशक्तीकरण, महिला जनप्रतिनिधिलाई परिचालन गर्ने विषयमा ध्यान दिन सकेको छैन । हेटौँडा–४, अजरअमररोडस्थित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जले हरेक साता महिला जनप्रतिनिधिसँग कुराकानी गर्ने गरेको छ । यसैसन्दर्भमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बाट वडा सदस्य निर्वाचित भई कार्यपालिका सदस्य समेत रहनुभएकी नन्दकुमारी बिश्वकर्मा (बिक) सँग रेडियोकर्मी संगी लामाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः तपाई राजनीतिमा कसरी पुग्नु भयो ?
बिकः मेरो बुवा पहिलेदेखि नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो । पार्टीका लागि एकदम मिहिनेत गर्नुहुन्थ्यो । नेपाली कांग्रेसले पनि बुवाका लागि या भनौं मलाई पढ्नका लागि हरेक कुरामा सहयोग गर्दै आयो । पछि म मकवानपुर जिल्लामा बिवाह भएर आएँ । धेरै समस्याको सामना गर्दै आफ्नो पढाई अगाडि बढाएँ । बुवा ४० बर्षको उमेरमा बित्नु भयो । त्यसपछि मलाई पार्टीको झनै माया लाग्यो । बुवा बित्नु भएपछि कांग्रेस पार्टी भनेर सबैले सहयोग गर्नु भयो । सम्बन्ध प्रगाढ हुँदै गयो । म काँग्रेसमा आबद्ध भएँ ।
समाजः बिवाहअघि तपाई कहाँ हुनुहुन्थ्यो ?
बिकः म धादिङ जिल्लाको सीतालेख गाउँपालिकामा थिएँ । दश कक्षासम्म त्यहिँ श्री महाकाली माविमा पढेँ ।
समाजः घर परिवारसँगै वडा र पालिकाको कार्यपालिका सदस्यको पनि जिम्मेवारी सम्हाल्नु कत्तिको सहज भैरहेको छ ?
बिकः धेरै नै संघर्ष हुन्छ । घरमा सबै कुरा मिलाएर अघि बढ्नु पर्छ । कामको कारण घरबाट बाहिर निस्किनु पर्दा समाजले धेरै कुरा गर्छन् । “श्रीमतीलाई धेरै नपढाउनु पछि छोडेर जान्छे” भनेर यही समाजले मेरो श्रीमानलाई धेरै सुनाए । उहाँले मलाई धेरै सहयोग गर्नु हुन्छ । म धेरै कुराहरु सहेर संघर्ष गर्दै अघि बढि रहेकी छु ।
समाजः निर्वाचित भएको समयदेखि अहिलेसम्म आइपुग्दा तपाईहरुले वडामा के–के काम गरेर सकाउनु भयो ?
बिकः विकास निर्माणको कामहरुमा वडा अध्यक्षले अर्जुन दाई र सुकराम दाईलाई जिम्मा दिनु भयो । उहाँहरुले त्यो जिम्मा लिइसक्नु भएपछि हामीले महिलासम्बन्धी, कृषिसम्बन्धी, जस्तै टनेल बनाउन प्लाष्टिक दियौं, पशु बीमा गरेका छौं । बाख्रालाई नाम्ले जुकाको औषधी दिएका छौं । बालबालिकाको क्रियाकलापका लागि पैसा छुट्यायौं । त्यो क्रियाकलाप देउरालीडाँडामा भएको छ । बालबालिकाको खेलकुदका लागि भलिबलहरु पनि दिएका छौं ।
समाजः गढि गाउँपालिकाको वडा नम्बर ५ मा अहिले गर्नै पर्ने विशेष काम के देख्नु हुन्छ ? अनि कसरी उक्त काम गर्ने योजना बनाउनु भएको छ ?
बिकः म महिला तथा बालबालिका पट्टिबाटै जान चाहन्छु । वडाका महिलाहरुले सीप सम्बन्धी कार्यक्रम ल्याउनु पर्यो भन्नु भएको थियो । त्यो सम्बन्धी कार्यक्रम ल्याउनका लागि पैसा छुट्टाइएको छ । सीप विकाससम्बन्धी भेला गर्दा कुन कार्यक्रम गर्दा उपयुक्त हुन्छ त्यो कार्यक्रम गर्ने, कृषिसम्बन्धी, महिला उद्यमीका लागि हामीले बीउ दिने, कृषि समुहले आवश्यक के छ के माग्नु हुन्छ कृषि व्यवसायलाई निरन्तरता दिन के सहयोग गर्नुपर्छ भनेर त्यसका लागि बजेट छुट्टाइएको छ ।
समाजः तपाईको वडामा महिलाहरुको स्वास्थ्यको अवस्था कस्तो छ ? महिलाहरुको स्वास्थ्यका लागि के कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?
बिकः अहिलेका लागि चै आमभञ्ज्याङ स्वास्थ्य चौकी ५ नम्बर वडामै छ । अलि दुर्गमतिर हुनुहुने महिलाहरुका लागि गाउँ–गाउँमै गएर स्वास्थ्य क्लिनिक चलाएका छौं । स्वास्थ्य चौकीमा सेवा लिन आउँदा केही होला, कस्तो समस्या होला भनेर सिसि क्यामेरा जडान गरेका छौं ।
समाजः स्वास्थ्य चौकीसम्म सेवा लिन आउने महिलाहरुको संख्या के कति छ ?
बिकः सेवा लिन आउने धेरै नै हुनुहुन्छ । केही महिलाहरु चैं हेटौँडा आउनु हुन्छ । प्रसुती सेवा पनि स्वास्थ्य चौकीमै उपलब्ध गराएका छौं । जति सकिन्छ स्वास्थ्य चौकीमै आउनु भनेका छौं ।स्वयमसेवीकाहरु खटिएका छन् । यसपालीदेखि गाउँपालिकामा स्वास्थ्यमा सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम राखिएको छ ।