हेटौँडामा एक साहित्यिक कार्यक्रममा आफ्नो रचना वाचन गर्नुहुँदै ओमभक्त भण्डारी ।

जहाँ इच्छा, त्यहाँ उपाय । खाने मुखलाई जुँगाले छेक्दैन । यि माथिका दुई नेपाली उखानका पर्याय हुन् विराट र बहुमुखी प्रतिभाका धनी ॐ भक्त भण्डारी । हर्नामाडी मात्र नभएर मकवानपुर आसपासमा समेत आफ्नो प्रतिभाको परिचय दिइसकेका यिनी हर्नामाडी क्षेत्रका लागि चिरस्मणीय स्रष्टा हुन् । विक्रम सम्वत् २०१२ साल माघ महिनामा मकवानपुरको दुर्गम ठाउँ महादेवटारमा जन्मेका उनले जीवनमा दुःख सुखका अनेकौं ओकाली ओराली भोगेका छन् ।

औपचारिक शिक्षा भन्नु कक्षा ३ को परीक्षा दिएको मात्र याद छ उनलाई, त्यो पनि घर मै पढेर । पाँच वर्षको उमेरदेखि नै अक्षर चिन्ने थालेका उनी बाह्रखरी र चण्डी किताब पढ्ने गर्थे । सानै उमेरदेखि जिज्ञासु स्वभावका उनी हरेक कुरालाई गहिरिएर बुझ्ने प्रयास गर्थे । कुनैपनि बस्तुहरु देख्ने बितिकै त्यसले कसरी काम गर्छ होला ? त्यो कसरी बन्यो होला ? त्यसलाई छोयो भने कस्तो हुन्छ होला ? भन्ने उनलाई खुल्दुली लाग्थ्यो । सानोमा एकपटक जंगलमा बाख्रा चराउन जाँदा आकासमा हेलिकप्टर उडेको देख्दा उनलाई पनि हेलिकप्टर बनाउन इच्छा जाग्यो । अनि बनाई हाले गुजरगानाको हेलिकप्टर । समय मै केही ज्ञान लिने मौका पाएको भए र सामान जुटेको भए साँच्चैको उड्ने हेलिकप्टर बनाउँथे भन्ने उनलाई अझै पनि लाग्छ ।

उनको बाल्यकाल घट्ट जाने, खेतिपाति गर्ने, घाँसपात जाने गरेर नै बित्यो । विद्यालय शिक्षा लिन पाएनन् । तर उनको जिज्ञासु स्वभावले उनलाई मूर्तिकार, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, योजनाकार, साहित्यकार, सामाजिक अभियन्ता लगायतका धेरै परिचय दियो । महादेवटारबाट २०२७ सालमा उनको परिवार हर्नामाडी बसाइँ आएको थियो । बुवा सिकर्मी हुनुहुन्थ्यो । बुवालाई पछ्याउँदै गर्दा १५, १६ वर्षमा त उनी काठको हेड मिस्त्री नै बनिसकेका थिए । उनको घरमा प्रयोग भएको काठको भर्याङ पनि आफैंले बनाएका हुन् ।

यसैबीच २०६९ सालमा उनकै घर छेउ गुम्बाडाँडामा अन्तर्राष्ट्रिय मूर्तिकलाको कार्यशाला हुने भयो । सात देशका मूर्तिकारहरु आएर ढुङ्गा खोपेर विभिन्न आकृतिका मूर्ति बनाउने भए । सबैले मूर्ति निर्माण गरेको देख्दा उनलाई पनि मूर्ति निर्माण गर्ने इच्छा जाग्यो । हर्नामाडी कै व्यावसायिक मूर्तिकार लक्ष्मण भुजेलको प्रेरणाले मूर्तिकलामा समेत उनी अघि बढे । फलस्वरूप उनले सोही कार्यशालामा स्थानीय सहभागीको रुपमा जीवनमा पहिलोपटक कछुवाको मूर्ति बनाए । गुम्बाडाँडा घुम्न आउने जोकसैले त्यो मूर्ति अवलोकन गर्न सक्छन् । उनको मूर्ति निर्माणको भोकले उनलाई धेरै ठाउँ पुर्यायो । सामरीको धनडाँडामा रहेको आमाको विशाल मूर्ति (संयुक्त रुपमा निर्माण), जनप्रिय मावि चिसापानीको प्राङ्गणमा रहेको भानुभक्तको मूर्ति, शहिद बासुदेव घिमिरेको मूर्ति उनले निर्माण गरे ।

मूर्तिकलामा व्यस्त भण्डारी ।

किसान परिवारमा जन्मेका कारणले पनि होला उनलाई खेती किसानीको बारेमा पनि प्रशस्त ज्ञान थियो । त्यस बखत २०५३ साल ताका हर्नामाडीमा पानीको निकै अभाव थियो । सिँचाई पुर्याउन सके त कृषि उत्पादन बढाउन सकिन्थ्यो भन्ने उनलाई लाग्यो । त्यसबाट जन्मियो गोरक्ष ताल निर्माण गर्ने योजना । अग्लो स्थानमा जंगलको फेदी पारेर बर्षाको पानी जम्मा गर्ने र सोही पानी हर्ना फाँटसम्म पुर्याउने सोचले तालनिर्माण भयो । तर पानी ल्याउन त्यति सहज थिएन । पानी ल्याउनका लागि डाँडाको वरिपरि घुमाएर कुलो बनाउन धेरै समय र खर्च लाग्ने भयो । त्यसपछि उनले नयाँ जुक्ति निकाले डाँडालाई सुरुङले छेड्ने । सबैले असम्भव जस्तै ठाने । तर उनलाई सानै उमेरमा काठमा प्वाल खोप्दा दुई तर्फबाट खोपेर पनि सही दिशा पकडेको अनुभवले काम गर्छ भन्ने लाग्यो । नभन्दै उनले यो असम्भव जस्तो देखिने कामलाई सम्भव तुल्याई दिए । तर त्यो सुरुङलाई पक्का बनाउन नपाउँदै बर्खा लागेर सबै सुरुङ भत्कियो । पछि त्यही भत्किएको सुरुङलाई मर्मत गर्ने योजना तत्कालिन गाविस अध्यक्षले ल्याए । तर उनले त्यो सुरक्षीत नहुने सुझाए र अर्को स्थानबाट सुरुङ खन्ने प्रस्ताव गरे । फेरी भत्किए पैसा मात्र खेर जाने भन्दै उनी माथि सबैले शंका गरे । यो पटक काम सफल नभए पैसा नदिने शर्त राख्दै अध्यक्षले काम गर्ने अनुमति दिए । उनले हुन्छ भने ।

उनले लिएको लक्ष्य अनुसार नै २९ दिनको दिन रातको ८ बजे सुरुङ वारपार गरिदिए । उनको यो सीप देखेर तत्कालीन सडक विभागका प्रमुख इन्जिनियर नै अचम्ममा परेका थिए । पछि सो सुरुङ भित्र ह्युमपाइम राख्न पनि सिकर्मीको सीप काम लागेको थियो । उनले ह्युम पाइप तान्न काठको यन्त्र बनाएका थिए । सुरुङ निर्माणको कार्यमा उनका दुई साथी किरण थापा र राम प्रसाद पराजुलीको समेत महत्वपूर्ण साथ थियो । सरकारी संस्थाको समेत ध्यानाकर्षण भएको त्यस योजनाले अन्ततः बरौली सिँचाई योजनाको नाम पायो । बाल्यकालमा गोठाला जाँदा साथीभाइहरुले विभिन्न नराम्रा अपशब्दको प्रयोग गर्ने, खराब आचरण र व्यवहार गर्ने गर्थे । उनलाई त्यो मन परेन । त्यसपछि भगवानको मोहनीमा भुल्नको लागि उनी भजन कीर्तनमा संलग्न भए ।

बोलीमा सुधारसँगै मनोरञ्जन पनि हुन थालेपछि उनी भजनतर्फ झन आकर्षित भए । त्यहाँ पनि उनले हाम्रो लोकप्रिय बाजा खैँजडी लोप हुँदै गएको महसुस गरे र खैँजडी भजन जोगाउन प्रयत्न स्वरुप कालिका भजन समूह गठन गरे । उनी संलग्न समूहले विभिन्न धार्मिक कार्यक्रमहरुमा रातभरी खैँजडी भजन गाउँछन् । कहिलेकाहीँ सामाजिक विषयवस्तुमा समेत उनको खैँजडी घन्कने गरेको छ । उनी सात मिनेटसम्म शंख बजाउन सक्छन् । भ्रष्टाचार विरोधि अभियानमा समेत उनको शंखको ध्वनि गुञ्जेको छ । साहित्यमा एकदमै धेरै चाख राख्ने उनले पहिलोपटक “रमाईलो नानी” भन्ने किताब पढेका थिए । विशेषगरी मुक्तक उनको रुचिको विधा हो । युगदर्पण साहित्य समाज नामको संस्थाको नेतृत्व पनि उनले लिएका छन् ।

उनले साहित्यको माध्यमबाट हाम्रो राष्ट्रको वर्तमान अवस्था झल्काउने र भ्रष्टाचारमा झुल्दै गएको संस्कृति र परम्पराको विरोध गर्ने कुरा मात्र गर्दैनन् सुशासनको कुरा पनि उठाउँछन् । यि बाहेक गाउँघरमा बिग्रेका मेसिन बनाइदिने, चित्र बनाउने लगायतका समेत धेरै काम उनी गर्छन् । कुनैपनि काम उनलाई सक्दिन भन्ने लाग्दैन । “हातले गर्ने काम पनि के सकिँदैन” भन्नु ! उनी प्रायः यसै भन्ने गर्छन् ।

अन्त्यमा उनी भन्छ्न्, व्यवस्थापन गर्न सक्यो भने मात्र कुनै एउटा काममा सफल हुन सकिन्छ । त्यहि व्यवस्थापनको अभावमा उनले मूर्तिकलालाई व्यवसायकारुपमा अघि बढाउन नसकेको गुनासो गर्छन् । उनले अहिलेसम्मको जीवन यात्रामा संख्यात्मक भन्दा गुणात्मक कार्यलाई प्राथमिकता दिएका छन् । औपचारिक शिक्षा नभए तापनि उनको सिक्ने इच्छाशक्तिको कारण उनी सबै सामु चिनिन सफल भए । अहिले ६८ वर्षको उमेरमा पनि यूवा जत्तिकै सक्रिय उनीबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौं । उनी सबैका लागि एक प्रेरणका स्रोत हुन् । उनी एक यस्ता मोती हुन् जसले हर्नामाडी आसपासका क्षेत्रलाई निरन्तर चम्काइरहेको छ र चम्काई रहने पनि छ ।

(हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनमा अध्ययनरत कक्षा ४ की रिहाना थापा, कक्षा ५ का गृष्मा लामिछाने, मौलिक श्रेष्ठ, कक्षा ६ का विनया दाहाल कक्षा ७ का कुशल खड्का, कक्षा १० का रविना सापकोटा, सौरव विडारी, आस्था बोहरा, कृशव अधिकारी, सुजता बराईली, स्मृती कार्कीले ॐ भक्त भण्डारीसँग गरेको अन्तरवार्ताको आधारमा तयार पारिएको)