आयोजकले सार्वजनिक गरेको खेल तालिका ।

हेटौँडा : भोलि चैत २२ गते शुक्रबारबाट सुरु हुने जीतपुर–सिमरा गोल्डकपमा मकवानपुरबाट रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरले सहभागिता जनाउने भएको छ । १५ औं संस्करणमा सहभागी हुने एन्फा मकवानपुरले पहिलो खेल शनिबार आयोजक नव जनजागृति युवा क्लबसँग हुनेछ ।

सिमरा रंगशालामा आयोजना हुने प्रतियोगितामा यसपटक आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, साविक उपविजेता मछिन्द्र फुटबल क्लबसहित फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लब, सलहेश युवा क्लब सिरहा, हानामी बिएफसी चितवन र आयोजकको सहभागिता रहने छ ।

एन्फा मकवानपुरको कप्तानी अनुभवी खेलाडी सुरज विष्टले गर्नेछन् । एन्फा मकवानपुरले जीतपुर–सिमरा गोल्डकपका लागि एक महिनादेखि तयारी गरिरहेको छ । हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा २५ जना खेलाडीलाई एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ । एन्फा मकवानपुरले जीतपुर–सिमरा गोल्डकपको तयारीस्वरुप आज बिहीबार भीमफेदी गाउँपालिका–१ स्थित सुपारेटार व्यारेकमा नेपाली सेनाको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रशिक्षणमा १९ वर्षभन्दा कम उमेरका ५ जना नयाँ अनुहार सहभागी छन् । उनीहरु मध्ये राम्रो प्रस्तुती गर्नेले खेल्ने अवसर पनि पाउन सक्ने प्रशिक्षक श्रेष्ठको भनाई छ । आयोजक टिम विरुद्ध अनुभवीसँगै क्षमता राख्ने नयाँ अनुहारलाई खेलाउने योजना बनाएको प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो । जितपुर–सिमरा गोल्डकपमा यसअघि मकवानपुरको विजय युथ क्लबले उपाधि जितेको थियो ।