सामान्यतयाः असार–साउनलाई मनसुनी वायुबाट वर्षा हुने मुख्य समय मानिन्छ । बंगालको खाडीबाट सुरु भई नेपालको पूर्वी भागबाट प्रवेश गर्ने गृष्मकालीन मनसुनले करिब ४ महिना मुलुकका सम्पूर्ण भू–भागमा वर्षा गराउँदछ । खेतीयोग्य जमिनमा पर्याप्त सिंचाई सुविधा नपुगेको कारण अधिकांश नेपाली कृषक खेतीपातीको लागि आकाशे पानीमा भर पर्नुपर्ने भएकाले मनसुनी वर्षाको आफ्नै महत्व छ । तर, मुलुकमा वर्षासँगै त्रास आउने गरेको छ । वर्षासँगै बाढी, पहिरो, डुबान र कटानका कारण हुने प्रकोप हामीले सधैं भोग्नु परिरहेको पीडा हो । हरेक वर्षामा यस्ता प्रकोपका घटनाबाट जनधनको ठूलो क्षति हुने गरेको छ । हरेक वर्षायाममा पहाडी क्षेत्रमा बाढी तथा पहिरो र तराईमा डुबान र कटानको समस्या हुने गरेको छ र यो बढ्दो क्रममा छ । यसले मुलुकको आर्थिक विकासमा पनि ठूलो अबरोध सिर्जना गरिरहेको छ । यस्ता विपत्तिहरु रोक्न नसकिए पनि यसबाट सतर्कता अपनाउन सकिन्छ ।
पछिल्लो केही दिनदेखि न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । शुक्रबारदेखि धेरै पानी परिरहेको छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार नै विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो । महाशाखाको पूर्वानुमानअनुसार शनिबार दिउँसोदेखि पानी पर्ने क्रम झन् बढको थियो । आइतबार बिहान मकवानपुरको हेटौंडा र मकवानपुरगढी आसपासमा अधिक वर्षा भएको भन्दै विभागले सचेतना अपनाउन विशेष आग्रह गरेको थियो । विभागले मोबाइलमार्फत् म्यासेज नै पठाएर सतर्कता अपनाउन आग्रह गरेको हो । म्यासेजमा मकवानपुरगढी र हेटौंडा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको भन्दै सो क्षेत्र भई बग्ने कर्रा, सामरी, पूर्वी राप्ती नदीलगायत स–साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले सतर्कता अपनाउन आग्रह गरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागको उक्त आग्रहपश्चात जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । दुबै निकायको सूचनामा कुनै समस्या भएमा सम्पर्क गर्न सम्पर्क व्यक्ति तथा निकायको फोन नम्बरसमेत उल्लेख गरिएको थियो । वर्षाको समयमा धेरै पानी पर्ने भएकाले बाढी–पहिरोको जोखिम हुन्छ नै । वर्षाको समयमा खोला नदीमा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने, खोला नदी नजिकको बस्तीमा बाढी पस्ने, पहिरोले घरबारी बगाउने, तराई तथा होचा भूभागको बस्ती डुबानमा पर्ने जोखिम हुने भएकाले यसप्रति सबै सावधान हुनुपर्छ । वर्षाको समयमा बाढी, पहिरो र कटानका कारण सडक अवरुद्ध हुने हुँदा यात्राको क्रममा पनि सतर्कता अपनाउनुपर्छ ।
वर्षाको समयमा यस्ता घटना देशका कुनै न कुनै भूभागमा भइरहने भए पनि बेवास्ता गर्नु हुँदैन । हाम्रो सानो सतर्कताले आफ्नो ज्यान बच्ने र अरुको ज्यान बचाउने हुँदा सबैले उच्च सतर्कता अपनाउनु आवश्यक हुन्छ । सरकारले पनि बाढी, पहिरो, डुबान र कटानको जोखिम क्षेत्र पहिचान गरी आम नागरिकलाई समयमै सचेत बनाउनु पर्छ । कम्तिमा बढी जोखिम देखिएका स्थानमा सतर्कता अपनाउने, जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्ने र कुनै प्रकोपका घटनाबाट पीडित बनेकाको तत्काल उद्दार र राहतको प्रबन्ध गर्नुपर्छ । अधिकांश प्राकृतिक प्रकोप मानिसको नियन्त्रणबाहिर भए पनि त्यसबाट हुने जोखिमको मात्रा भने हाम्रै सतर्कतामा भर पर्छ । सम्भावित प्रकोपबारे सतर्कता बढाउन र प्रकोप व्यवस्थापनमा तीन तहको सरकारले गम्भीरता देखाउनु आवश्यक छ ।