पत्रकार सम्मेलनमा बोल्नुहुँदै जगन्नाथ थपलिया ।

सरकार मन्त्री थप्न केन्द्रितः नेता थपलिया
हेटौँडाः नेकपा एमालेले बागमती प्रदेश सभाको बैठक बोलाउन माग गरेको छ । आइतबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले प्रदेश सभालाई क्रियाशील गराउन माग गरेको हो । बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता जगन्नाथ (जेएन) थपलियाले बागमती प्रदेश सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ मात्र केन्द्रित भएको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा नेता थपलियाले अहिले जनताका आवाज बोल्नुपर्ने बेलामा सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन नसकिरहेको बताउनुभयो । गत असार २१ गते अर्को सूचना नभएसम्मका लागि भनेर स्थगित गरिएको प्रदेश सभाको अर्को बैठक झण्डै डेढ महिना हुँदा पनि बस्न नसकेको उहाँले बताउनुभयो । अहिले प्रदेशवासी विपद्, रोग र भोकसँग लडिरहेका बेला सरकार हराएको बताउनुभयो । बाढीपहिरोले जताततै क्षति पुर्याइरहेको अवस्थामा दैनिक उपभोग्य वस्तुहरुको महङ्गी बढेर नागरिकहरु तड्पिरहेका बेला सरकार हराएको उहाँले बताउनुभयो ।

अहिले संघीयतामाथि प्रश्न उठिरहेका बेला संघीयता काम लाग्दैन भन्ने प्रमाणित गर्ने खालका गतिविधि प्रदेश सरकारबाट भइरहेको उहाँले बताउनुभयो । उहाँले प्रदेश सभाको निर्वाचन सम्पन्न भएर प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनि कुनैपनि संसदीय समितिको पहिलो बैठक नै बस्न नसकिरहेको बताउनुभयो । एमालेले प्रदेश सभाको बैठक तत्काल बोलाएर आमनागरिकका समस्याहरुका बारेमा उनीहरुका प्रतिनिधिहरुलाई सदनमा छलफल गर्नेे व्यवस्था मिलाउन माग गरिएको उहाँले बताउनुभयो ।

संसदीय समितिलाई सक्रिय बनाएर सरकारका काम कारबाहीहरुको निगरानी बढाउनुपर्ने जीकिर गर्दै एमालेले संसदीय समितिलाई सक्रिय नगरेर प्रदेश सरकारले लापरबाही गरिरहेको जनाएको छ । सरकारले प्रदेश सभालाई विजनेस दिन नसकेको एमालेको आरोप छ । प्रदेश सभा बैठक बोलाउन ध्यानाकर्षण गराउँदै आइतबार पत्रकार सम्मेलनसँगै नेकपा एमालेले मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।