पूर्वी नेपालमा व्यापक बनिरहेको डेंगु संक्रमणको क्रम हेटौंडामा पनि वृद्धि भएको छ । केही सातादेखि पूर्वी नेपालको धरानमा डेंगुले महामारीको रुप लिएको छ भने आसपासका क्षेत्रमा संक्रमण बढ्दै गएको छ । वर्षा लागेसँगै डेंगु संक्रमण बढ्ने भएकाले यसको संक्रमण सबैतिर फैलिइसकेको छ । २ वटा जिल्लाबाहेक ७५ वटा जिल्लामा डेंगुका बिरामी फेला परिरहेको बताइएको छ । चालु आर्थिक वर्ष (२०७९/०८०)को साउन १ गतेदेखि २२ गतेसम्म मकवानपुरमा ६५ जनामा डेङ्गु संक्रमण देखिएको छ । पछिल्ला दिनहरुमा भने दैनिक १० जनासम्ममा डेंगु संक्रमण पुष्टि हुन थालेपछि यसले मकवानपुरमा पनि महामारीको रुप लिने हो कि भन्ने चिन्ता बढाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले हेटौंडाका ३ दर्जनभन्दा बढी सरकारी र निजी संस्थाबाट डेंगु परीक्षण गर्ने र त्यसको तथ्यांक राख्ने गरिएको बताइएको छ । विगतका वर्षहरुदेखि हालसम्म मकवानपुर जिल्लामा ५ हजार ८ सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने डेंगुका कारण एक जनाको मृत्य भएको छ ।
पछिल्ला वर्षहरुमा हेटौंडामा पनि डेंगु संक्रमण तिब्ररुपमा फैलिएर महामारीको रुप लिएको थियो । २०७६ साल र २०७९ सालमा यहाँ डेंगु संक्रमण व्यापक बनेको थियो । २०७७ र २०७८ सालमा भने कोभिड–१९ को संक्रमणका कारण डेंगु परीक्षण र संक्रमण दुबै ओझेलमा परेको थियो । २४ घण्टाभित्र गरिएको परीक्षणमा १० जनामा डेंगु संक्रमण पाइएपछि डेंगुको महामारी फैलने चिन्ता बढेको छ । डेंगु संक्रमण फैलिएर महामारीको रुप लिन नदिन सचेतना अपनाउनुका साथै डेंगु संक्रमण गराउने एकमात्र कारण लामखुट्टेको लार्भा तथा बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गर्नु आवश्यक भइसकेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रणबारे सोमबार जिल्लास्तरीय अन्तरक्रियासमेत भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा सरोकारवाला निकाय र विभिन्न सामाजिक संघसंस्थाहरुबीच अन्तरक्रिया भएको हो । अन्तरक्रियामा देशका विभिन्न भागमा डेंगु संक्रमण फैलँदै गएको हुँदा मकवानपुरमा पनि डेंगु रोकथामको पूर्वतयारी गर्नुपर्ने र घरघरमा सचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । हेटौंडामा पनि डेंगु संक्रमण व्यापक बन्दा आम सर्वसाधारणमा त्रास बढाएको छ । हेटौंडा अस्पताल तथा निजी अस्पताल र प्रयोगशालामा डेंगु संक्रमण जँचाउन आउनेको संख्या पनि बढ्दै जाँदा यसको नियन्त्रणमा सम्बद्ध निकाय गम्भीर बन्नु आवश्यक देखिएको छ । जिल्लाका सबै स्थानीय तह, वडा र टोल विकास समूहहरु डेंगु रोकथाममा जागरुक बन्नु आवश्यक भइसकेको छ । लामखुट्टेको टोकाइबाट बच्न र डेङ्गुबारे सचेत रहन विशेष सतर्कता अपनाउनुपर्छ । वर्षा भर्खर सुरु भएकाले अझै तीन महिनासम्म यसको संक्रमण व्यापक हुने जोखिम रहेको छ ।
वर्षायाममा संक्रमण व्यापक हुने रोगहरुमध्ये डेंगु प्रमुख बन्न थालेको छ । करिब दुई दशक अघिसम्म पत्तै नभएको यो रोग पछिल्ला वर्षहरुमा निकै संक्रामक र व्यापक बनिरहको छ । नेपालमा वर्षेनि डेंगु संक्रमणको दायरा र दर बढिरहेको छ । यो रोग लाग्दा एक्कासी ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजा, गुद्द्वारबाट रगत आउनेजस्ता लक्षणहरु देखा पर्ने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य जाँच गराउनु उचित हुनेछ । हुन त डेंगुको कुनै औषधि, उपचार र खोपसमेत छैन । डेंगु संक्रमण भएमा मनोबल उच्च बनाउँदै स्वास्थ्यकर्मीको सल्लाहअनुसार खानपिन र व्यवहार गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य उपाय भएकाले घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने, रोगको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु आवश्यक छ ।