हेटौँडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरले संघीय संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक २०८० को विरोध गरेको छ । प्याव्सन मकवानपुरले विधेयकको विरोध गर्दै आज बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
संघीय सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा ५ वर्षभित्र निजी विद्यालय गैरनाफामुलक निजी वा सार्वजनिक गुठीमा रुपान्तरण गर्नुपर्ने व्यवस्थाको विरोधमा ज्ञापनपत्र बुझाउन लागिएको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभएको छ । विधेयकमा ५ वर्षभित्र विद्यालयले सबै दायित्व भुक्तानी गरेर रुपान्तरण हुनुपर्ने व्यवस्था अझ चुनौतिपूर्ण रहेको प्याव्सन मकवानपुरका अध्यक्ष सुवेदीको भनाइ छ । विधेयककै विरोधमा प्याव्सन, एनप्याव्सन र हिसानले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका छन् ।