कुनै बेला संस्कृतलाई एउटा निश्चिम वर्ग र समुदायको भाषाको रुपमा व्याख्या गर्दै विद्यालय तहमा संस्कृत विषयलाई निषेध गरियो । तर, गुरुकुलीय शिक्षा अर्थात् संस्कृत शिक्षालाई आत्मसात गर्दै एउटा वर्गले देशका विभिन्न स्थानमा संस्कृत वेद विद्यालय स्थापना गरेका छन् । संस्कृत शिक्षाले मूलतः धर्म, अध्यात्म र गुरुकुललाई जोड दिँदै आएको छ । भाषा र ज्ञानको दृष्टिले पनि संस्कृत शिक्षालाई उल्लेखनीय मानिँदै आएको छ । यसैसन्दर्भमा हेटौँडा–१०, गोरक्षेश्वर महादेव धाम परिसरमा रहेको संस्कृत वेद विद्यालयको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुयश पराजुलीसँग समृद्ध समाज दैनिककी संवाददाता सुप्रभा शर्माले गर्नुभएको कुराकानीः
समाजः अहिले संस्कृत वेद विद्यालयमा कसरी अध्ययन अध्यापन हुँदैछ ?
पराजुलीः संस्कृत वेद विद्यालयलाई हामीले खासगरी गुरुकुलीय पद्दतिबाट सञ्चालन गर्न खोजिएको विद्यालय थियो । तर सरकारी अनुमति लिएर विद्यालय सञ्चालन गर्दा प्रमाणपत्रहरुको काममा सजिलो हुने भएकोले हामीले २०५८ सालदेखि सरकारी अनुमति लिएर कक्षा ६, ७ र ८ पनि सञ्चालन ग¥यौँ । संस्कृत बाहेक अन्य विषयहरुमा पढाउनका लागि २ जना शिक्षक दरबन्दीमा हुनुहुन्छ भने संस्कृत विषयहरु पढाउनका लागि हामीले सबै निजी श्रोतबाट व्यवस्थापन गरेका छौं । साथै त्यहाँ २०/२२ जना अट्ने छात्रावास छ । हामीले त्यो छात्रावासमा अवास र भोजनको निशुल्क व्यवस्था गरेका छौं । हामीले अंग्रेजी, गणित र भूगोल गरी ४ वटा विषयलाई शिक्षाको नियमानुसार पढाइरहेका छौं ।
समाजः विद्यालयको स्थापना कसरी भयो ?
पराजुलीः २०५७ सालमा मेरो वुबा प्रेमनाथ पराजुलीले यो मकवानपुर जिल्लामा एउटा पनि संस्कृत पढ्ने ठाउँ नभएको र त्यो बेलामा विद्यालयहरुमा संस्कृत विषय हटाएको हुनाले नेपालीदेखि लिएर भारतीय विज्ञानले पनि संस्कृत विषयलाई महत्व दिनुपर्छ भनेर अनुसन्धान गर्ने क्रममा हाम्रो नेपालीभाषाको प्रमुख भाषा नै संस्कृत हो । नेपालबाट हराउँदै गयो भनेर २/३ जनालाई राखेर संस्कृत भाषाको शिक्षा दिन थालेको हो । पछि गएर समाजसेवी व्यक्तिहरु मिलेर गोरक्षेश्वर मन्दिरको पछाडि जमिन मागेको हो । २०५८ सालमा आएर यसरी स्वतन्त्र रुपमा पढाउने भन्दा पनि शिक्षा विशेषका लागि पढाउँदा प्रमाणपत्र उपलब्ध हुन्थ्यो । हाम्रो चाहिँ ८ सम्ममा मात्र पढाई हुने हुँदा ९ कक्षा त कत्तै गएर पढ्नु प¥यो । आधिकारिक प्रमाणपत्र दिने व्यवस्था गरियो । संस्कृतको पाठ्यक्रममा जस्तो थियो त्यसरी नै पढाउन सुरु गरिएको हो ।
समाजः तपाईले व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभएको कति समय भयो ?
पराजुलीः मैले काम गरेर ३ वर्ष पुग्न लाग्यो ।
समाजः शिक्षकलाई तलब दिन आर्थिक स्रोत कसरी जुटाउनुभएको छ ?
पराजुलीः भूगोल पढाउने २ जना शिक्षकको तलब सरकारले दिइरहेको छ भने संस्कृत पढाउने २ जना शिक्षक, अंग्रेजी पढाउने एकजना, छात्रावास व्यवस्थापक र एउटा भान्सेलाई हामी निजीस्रोतबाट व्यवस्थापन गर्नु पर्छं ।
समाजः विद्यार्थीका लागि खर्च कहाँबाट जुट्छ ?
पराजुलीः चन्दा, सहयोगी, दानदाता, काजकिरिया गर्नेहरुको चामल हुन्छ त्यो नै हामीले प्रयोग गरेका छौं भने कसैले नगदै पनि चन्दा दिने गर्नुभएको छ । छात्रावासमा मात्रै ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।
समाजः विद्यार्थीहरु कस्ता छन् ?
पराजुलीः विद्याथी हामीले छनौट गर्न पाउँदैनौं । अगाडि कुनै संकायमा भर्ना गरी एउटै कक्षामा फेल भएकाहरु आउँछ भने कोही विद्यार्थी राम्रो पनि आउने गरेका छन् ।
समाजः विद्यार्थीहरु कहाँ–कहाँबाट आउँछन् ?
पराजुलीः मकवानपुर जिल्लाकै केही विद्यार्थी अध्ययनरत छन् । मकवानपुरसँगै झापा, नेपालगन्ज, नुवाकोट जिल्लाबाट पनि विद्यार्थी आएका छन् । हाम्रो उद्देश्य चाहिँ संस्कृतलाई भाषाको रुपमा विकास गर्ने हो ।
समाजः विद्यार्थीले यसलाई व्यावसायिक रुपमा हेरेका छन् ?
पराजुलीः कतिपय विद्यार्थीहरु ११/१२ पढेकाहरु पनि छन् । संस्कृत पढेका विद्यार्थीहरुको नेपाली, हिन्दी भाषा राम्रो हुन्छ । त्यसैले पढ्न आएका छन् । केही विद्यार्थी चाहिँ एउटा कक्षामा फेल भएकाहरु तिमी यहाँ ३ वर्ष बस्यो भने राम्रो भविष्य बन्छ भनेर अभिभावकहरुले ल्याएर राखेका पनि छन् ।
समाजः संस्कृत विषय ८ कक्षासम्म पढेकाले बाहिर गएर पढ्न पाउने व्यवस्था छ कि छैन ?
पराजुलीः कतिपय विद्यार्थीहरु त्यसरी भारततिर पढेर यहिँ हेटौँडाको आसपासमा रहेर काम गरिरहेका छन् । त्यसरी काम गरेको देख्दा विद्यालयको नाम राखेको जस्तो लाग्छ ।
समाजः विद्यालयका मुख्य समस्या के छन् ?
पराजुलीः सरकारी तवरबाट शिक्षकलाई तलब दिने भन्दा अरु केही सुविधा आउँदैन । हामीले चन्दा मागेर आवश्यकतालाई टारिरहेका छौं । अहिले हामीले वडालाई एक तल्ला थप्नका लागि खर्च माग गरेका छौँ । अहिले २० जना विद्यार्थी क्षमताको कक्षाकोठा छ । वडाले थपेको तल्लामा ४० जना राख्ने लक्ष्य छ ।
समाजः विद्यार्थीका गुनासा के रहन्छ ?
पराजुलीः विद्यार्थीका लागि खानामा कहिले काहीँ समस्या हुन्छ । कुनै शिक्षकले धेरै पढाएर अर्काे विषय पढ्न पाएन भन्छन् । यस्तै सामान्य किसिमका गुनासा हुन्छन् । हामीले विद्यालयलाई व्यवस्थित बनाउने योजना बनाएका छौँ । विद्यार्थीका गुनासालाई सकारात्मकरुपमा लिएर विद्यार्थीले सहजै अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रयासमा छौं ।