फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा निजी विद्यालयमा अध्ययनरत् विद्यार्थीको यकिन तथ्यांक छैन । विगत वर्षहरुबाट नै निजी विद्यालयमा अध्ययनरत् विद्यार्थीको यकिन तथ्यांक उपमहानगरले राख्ने नगरेको पाइएको हो । शैक्षिकसत्र २०७७ देखि चालु शैक्षिकसत्र २०८० सम्म निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको विवरण हेर्दा यकिन तथ्यांक नभएको पाइएको हो ।

हेटौँडा उपमहानगरपालिकाभित्र ४८ वटा संस्थागत विद्यालय रहेका छन् । जसमा केही विद्यालयले विद्यार्थी विवरण बुझाएका छैनन् । सामुदायिक विद्यालयहरुले भने सबैले विवरण बुझाएका छन् । २०७७ सालमा ३९ वटा संस्थागत विद्यालयले मात्र विद्यार्थीको तथ्यांक बुझाएको पाइएको छ । सो वर्ष ९ वटा विद्यालयले विद्यार्थी विवरण नै बुझाएका थिएनन् ।

यस्तै, २०७८ मा ४१ वटा विद्यालयले विवरण बुझाएका थिए । सो वर्ष ७ वटा विद्यालयले विवरण नबुझाएको हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । गत वर्ष २०७९ मा पनि ३९ वटा संस्थागत विद्यालयले मात्र विद्यार्थी विवरण बुझाएका थिए । यस वर्ष पनि विद्यार्थी विवरण बुझाउने समयसीमा सकिसक्दा ३० वटा विद्यालयले मात्र विद्यार्थी विवरण बुझाएको पाइएको छ ।

२०७७ सालको तथ्यांकअनुसार ३९ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या २१ हजार ४ सय २८ थियो । कक्षा १२ सम्म ९ हजार एक सय ८० छात्रा र १२ हजार २ सय ४८ छात्र अध्ययनरत थिए । उक्त वर्ष ९ वटा विद्यालयले विद्यार्थी भर्ना विवरण बुझाएको थिएन । २०७८ सालमा ४१ वटा विद्यालयमा ८ हजार ४ सय ७४ छात्रा र ११ हजार ४ सय ९ छात्र गरी १९ हजार ८ सय ८३ विद्यार्थी देखिन्छ । २०७८ सालमा ७ वटा विद्यालयले विद्यार्थी विवरण बुझाएको थिएन । २०७९ सालको तथ्यांकलाई हेर्दा ३९ वटा विद्यालयमा छात्रा ९ हजार ५ सय ६९ र छात्र १२ हजार ४ सय ८५ गरी २२ हजार ५४ जना देखिन्छ । उक्त वर्ष पनि ९ विद्यालयले विद्यार्थी विवरण बुझाएन ।

२०८० सालको तथ्यांकलाई हेर्दा ३० वटा विद्यालयमा छात्रा ८ हजार २९ र छात्र १० हजार ८ सय ७२ गरी १८ हजार ९ सय ४ विद्यार्थी देखिन्छ । जसमा १८ वटा विद्यालयले विद्यार्थी विवरण नबुझाएको देखिन्छ । हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुुख गंगाधर रिमालले भने सबै निजी विद्यालयहरुले विद्यार्थी विवरण बुझाएको दावी गर्दै आइरहनु भएको छ । तर, सबै निजी विद्यालयहरुले विवरण बुझाएको तथ्यांक भने उपमहानगरमा छैन । प्राविधिक कारण हुनसक्ने भन्दै दावी गरिए पनि विगतका वर्षहरुको विद्यार्थी विवरण यकिन नदेखिनुले नियमन फितलो देखिन्छ ।

निजी विद्यालयको नियमन तथा व्यवस्थापन गर्नु स्थानीय सरकारको जिम्मेवारी हो । जसमा स्थानीय सरकार फितलो देखिन्छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले उपमहानगरभित्र ३४ वटा माध्यमिक तहका र १४ वटा आधारभूत तहको गरी ४८ वटा संस्थागत (निजी) विद्यालय छन् । प्याव्सनसँग पनि निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको यकिन तथ्यांक छैन । अध्यक्ष सुवेदीले उपमहानगरभित्र कति विद्यार्थी अध्ययनरत् छन् भन्ने कुरा आफूलाई जानकारी नभएको स्वीकार्नु भयो । करिब २२ हजार विद्यार्थी अध्ययनरत् रहेको अनुमान छ । स्थानीय तहको तथ्यांक संकलन समितिले समयमा सूचना निकाल्दैन । निकालिए पनि कम समयावधिका लागि मात्र सूचना निकालिएको हुनसक्छ ।

प्राविधिक त्रुटी तथा सफ्टवेयर परिवर्तन भइरहने समस्याले पनि यकिन विद्यार्थी विवरण नदेकिएको हुनसक्ने प्याब्सन अध्यक्ष सुवेदीले बताउनुभयो । सबै विद्यालयले विद्यार्थी विवरण बुझाएको हुनुपर्ने बताउनुहुँदै सम्बन्धित निकायले बेवास्ता गर्दा यस्तो समस्या निम्तिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालय सरकारको अनुदानबाट चलेकाले ती विद्यालयहरुको विद्यार्थी विवरण प्रष्ट देखिन्छ । छात्रवृत्तिदेखि शिक्षकलाई तलब वितरण र प्राविधिक तथा आर्थिक सहयोग राज्यले गरिरहेको हुन्छ । जसले गर्दा सबै सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीको विवरण उपमहानगरमा देखिएकोे उहाँको भनाइ छ ।

सबै सामुदायिकको विद्यालयको विद्यार्थी विवरण उपमहानगरमा देखिनु तर निजी विद्यालयको नदेखिनुले स्थानीय सरकार गैरजिम्मेवार देखिएको सुवेदीले आरोप लगाउनुभयो । यसरी स्थानीय तह र सम्बन्धित निजी विद्यालय दुबैको हेलचेक्र्याइँले यथार्थ विवरण नदेखिएको उहाँको स्पष्टोक्ति छ । राज्य सञ्चालन तथा व्यवस्थापन सहयोगका लागि यथार्थ तथ्यांक उपलब्ध गराउनु विद्यालयको महत्वपूर्ण जिम्मेवारी हो । राज्यको अनुमति लिएर खोलिएका निजी विद्यालयहरुको नियमन तथा व्यवस्थापनमा राज्य नै गैरजिम्मेवार बन्दा विगत लामो समयदेखि निजी विद्यालयहरुले विद्यार्थी विवरण नबुझाएको प्रष्ट देखिन्छ । गत वर्षदेखि हेटौंडा उपमहानगरभित्र सञ्चालित क्याम्पसबाट पनि विद्यार्थी विवरण लिने गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले जनाएको छ ।