शिक्षा र शिक्षकहरूको क्रियाकलापबारे शिक्षाविद् गिजुभाइ गिरिजाशंखरले औँल्याएका विषयमध्येको टिपोटको प्रारम्भमा नै भनिएको छ, शिक्षकहरूलाई मास्टरबाट सहजकर्तामा रूपान्तरित हुने दवाव बढ्दो छ । बालबालिकाप्रति सम्मानजनक व्यवहार दर्शाउनका निम्ति तँ नभनौँ अभियान चलाउन आग्रह गरेको कुराले नै मेरो मन छोयो । आधुनिक ढंगले स्थापित भएका र अध्ययन अध्यापन भैरहेका विद्यालयहरूमा त परम्परागत शैलीमा केही सुधार भैरहेका छन् तर हाम्रो समाजको चेतनाको स्तर आदिका कारण बालबालिकाप्रतिको परम्परागत दृष्टिकोण फेरिएको छैन ।
पुस्तकमा शिक्षक गिजुभाइले भोग्नुपरेका अनेक अप्ठ्यारासहित नयाँ शिक्षण विधिहरू पनि उदाहरणसहित प्रस्तुत गरेका छन् । त्यसैले चलन जहिलेदेखिको होस् यसलाई तोड्नै पर्छ । यो त ठाडै ढोङ हो र धोखा पनि भनेर सोच्न बाध्य बनाएका छन् । उनी अगाडि लेख्छन् मुख्य कुरा त हाम्रो उत्साह । हाम्रो इच्छाशक्ति, हाम्रो अत्मविश्वास र लगन हो । यस्तो लगन जुन हाम्रो आत्माबाट निस्कन्छ र आफ्नो लक्ष्य प्राप्ति गर्न एकनिष्ठ भएर अघि बढ्छ ।
दिवास्वप्न पुस्तकमा लेखक गिजुभाइ अर्थात गिरिजाशङ्कर भगवानजीको जन्म सन् १८८५ मा भारतमा भएको थियो । उनी तीन वर्ष अफ्रिका बसाइपछि स्वदेश फर्किए पश्चात् कानुनको अध्ययन र अभ्यासका लागि मुम्बइमा आफ्नो कर्मथलो बनाए । उनीभित्र रहेको बालबालिका केन्द्रित मोहले बालशिक्षाको क्षेत्रमा पु¥यायो । उनी स्वअध्ययनबाटै एक कुशल, सक्षम बालशिक्षाशास्त्री बने । यो पुस्तक अनुवादको पनि अनुवाद हो । पहिले स्थानीय गुजराती भाषा, हिन्दी भाषा हुँदै नेपाली भाषामा अनुवाद गरिएको हो ।
यो पुस्तकमा लेखक आफैँ उपस्थित भएका छन् उनले शिक्षा क्षेत्रमा देखिएका नकारात्मक पक्षहरूलाई केलाउँदै आधुनिक शिक्षा कस्तो हुनुपर्छ ? त्यसका लागि के–के गर्नुपर्छ भनेर आफैँले स्वअध्ययन, परीक्षण, क्रियाकलाप गरी शिक्षा यस्तो हुनुपर्छ भनेर स्वयं अग्रसर हुन्थे । उनले प्रारम्भिक तहमा राम्रो शिक्षा वा सिख्ने उपयुक्त वातावरण नपाएको खण्डमा माथिल्लो कक्षामा शिक्षकले जति नै प्रयास गरेपनि बालबालिहरूलाई राम्रो बनाउन सकिँदैन भन्ने तथ्यबोध गरी बालमन्दिर खोल्ने, बालशिक्षण विधिका किताब लेख्ने, प्रवचन दिने, शिक्षक तालिम सन्चालन गर्ने अभियान चलाए । शिक्षक मात्र नभई, शिक्षक अभिभावक र विद्यार्थी सबैको त्रिकोणात्मक सम्बन्धबाट बालबालिकाको अवस्था राम्रो बनाउन सकिन्छ भन्ने उनको भनाइ थियो । विशेषतः उनको शिक्षण विधि मारिया मन्टेश्वरीको सोध र अवधारणामा आधारित थियो तर उनले आफ्नो स्थानीय परिवेशमा ढालेका थिए ।
उनका अनुसार बालबालिकाहरूलाई एउटा कक्षाकोठामा थुनेर कुनै विषयवस्तुमा सुगा रटाइ गरेर सिकाउनु, लठ्ठी÷सिर्कनाले जबरजस्ती अनुशासनको पाठ सिकाउनु, डराउन दिएर, तर्साएर उनीहरूमा नकारात्मक असर पर्न जान्छ । बालबालिकाहरूसँग डरलाग्दो जीवनका रूपमा भन्दापनि साथी, असल सहजकर्ताको रूपमा शिक्षक उपस्थित हुने, रहरलाग्दा रमाइला रूचिपूर्ण खेलविधिबाट सिकाउने, उत्तीर्ण गराउने मात्र लक्ष्य नराखी विद्यार्थीको व्यक्तिगत रूचि, चासो र पारिवारिक वातावरण समेत ध्यानमा राखी उत्तिर्ण नहुने विद्यार्थीलाई व्यावसायिक, व्यवहारिक र पेशागत शिक्षा दिएर उनिहरूको जीवनयापन सहज गराउने दायित्व शिक्षकको हो भन्ने सुझाव यो पुस्तकले दिन खोजेको छ ।
पढ्ने पढाउने, सिक्ने सिकाउने परम्परागत मान्यताहरू तोडिनुपर्छ । शिक्षकले विद्यार्थीलाई अनुशासित बनाउन प्रयोग गरिने लट्ठी सिर्कना विस्थापित गर्नुपर्छ । विद्यार्थीलाई सम्मानजनक व्यवहार दर्शाउन तँ नभन्ने प्रण गर्नुपर्छ । लामो समय नबिर्साउन छिटो सजिलोसँग सिकाउन विषयगत खेलविधि, नाटक मञ्चन, कथावाचन, गायन, कविता वाचन, प्रदर्शनी आदि क्रियाकलाप गराउनुपर्छ भनी उनी प्रयासरत थिए । मन्टेश्वरी स्कुल अथवा उनको भाषामा बालमन्दिर खोलेर उनी १९ वर्षसम्म यसैमा समर्पित भए । उनले यस अवधिमा बालसाहित्य, बालशिक्षण, बाल मनोविज्ञानमा नयाँ–नयाँ प्रयोगहरू गरेर यसै विधामा रहेर १५० भन्दा बढी पुस्तकहरू लेखे ।
माथि उल्लेख गरिए जस्ता दर्जनौं कुराहरू यो पुस्तकमा समावेश छन् । त्यसैले यो पुस्तक एउटा प्रयोगशाला पनि हो । यो पुस्तकबाट आवश्यक ज्ञान हामी विद्यार्थी र शिक्षहरूले लिनै पर्छ भन्ने मलाई लागेको छ । आजको समस्त परिवेश नियाल्दा हामीले देखेको दिउँसैको सपना जस्तो लाग्छ दिवास्वप्न । तर यो दिवास्वप्न त देख्नै पर्ने पो रहेछ कि जस्तो महसुस मलाई भैरहेको छ ।