हेटौंडाः बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको २५/२५ लाख रुपैयाँको अनुदानमा मकवानपुर जिल्लाका ४ वटा विद्यालयमा ४२ सिट क्षमताको विद्यालय बस आइपुगेको छ । मकवानपुरगढी गाउँपालिका–२ मा रहेको चण्डिका माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–१३ मा रहेको महेन्द्र माध्यमिक विद्यालय, बागमती गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय र इन्द्रसरोवर गाउँपालिकामा रहेको सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा बस आइपुगेका हुन् ।
थाहा नगरपालिकामा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा भने बस आइपुगेको छैन । बागमती प्रदेश सरकारसँग गत असार २५ गतेभित्र विद्यालयलाई बस उपलब्ध गराउने सम्झौता भएपनि हालसम्म विद्यालयमा बस आइनपुगेको बताइएको छ । प्रदेश सरकारबाट बस खरिद भइसकेको, तर काठमाडौंबाट विद्यालयमा बस आइपुग्न ढिलाइ भएको बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरमान स्याङ्तानले जानकारी दिनुभयो ।
मकवानपुरगढी–२ मा रहेको चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले विद्यालयमा मंगलबार बस आइपुगेको बताउनुभयो । दैनिक ६ घण्टासम्म पैदलयात्रा गरेर विद्यालय धाउन बाध्य भएका विद्यार्थीलाई बसका कारण धेरै सुविधा पुग्ने उहाँले जानकारी दिनुभयो । मकवानपुरगढी–२ स्थित लेनडाँडा र मकवानपुरकै बकैया गाउँपालिका–१२, जितपुरभञ्ज्याङका विद्यार्थी दैनिक घण्टौं हिँडेर विद्यालय आउने गरेको उहाँले बताउनुभयो ।
“करिब ३५–४० जना विद्यार्थी पढ्नकै लागि दैनिक ६ घण्टा पैदलयात्रा गर्न बाध्य छन्”, प्रधानाध्यापक फुयाँलले भन्नुभयो, “अब ती विद्यार्थी विद्यालयमा पढ्न आउनकै लागि पैदल यात्रा गर्नु पर्दैन ।” विद्यालय बस सेवाबाट विद्यार्थी पूर्णरुपमा लाभान्वित हुने भएपछि पैदलयात्रा गरेर विद्यार्थी घण्टौं हिँड्नुनपर्ने उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनरत करिब २ सय विद्यार्थी उक्त बस सेवाबाट लाभान्वित हुने उहाँको भनाइ छ ।
वर्षे विदा भएका कारण अहिले विद्यालय बन्द रहेको छ । आउँदो साउन २८ गतेबाट विद्यालय सञ्चालनमा आएपछि बस सेवा सुरु हुनेछ । सकेसम्म विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी विभिन्न संघसंस्था र स्थानीय तहको सहकार्यमा बस सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रधानाध्यापक फुयाँलले जानकारी दिनुभयो । अन्य विद्यालयका विद्यार्थी पनि लाभान्वित हुनेगरी बस सेवा सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ । बस सेवा सञ्चालानमा आएपछि विद्यार्थीको समय बचत हुने भन्दै प्रधानाध्यापक फुयाँलले पैदलयात्रा गर्नुपर्ने घण्टौं समयलाई अब विद्यार्थीले अध्ययनका लागि खर्चिन सक्ने भएकाले शैक्षिक गुणस्तरसमेत वृद्वि विश्वास व्यक्त गर्नुभयो ।
हेटौंडा–१३ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पनि सोमबार बस आइपुगेको छ । महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठ भन्नुहुन्छ, “विद्यालयमा बस आइपुगेपछि कुन रुटमा विद्यालय बस सञ्चालन गर्ने भन्ने विषयमा अन्यौल रहेको छ ।” वनस्पति, सिग्रेनी, टुटेपानीबाट तत्काल बस सेवा सञ्चालनको माग आएकाले अन्यौलता सिर्जना भएको उहाँले बताउनुभयो । २ घण्टासम्म पैदलयात्रा गरेर पनि विद्यार्थी आउन बाध्य छन् । मनहरी–१, कमेरोपानीका करिब १० जना विद्यार्थी लामो समय पैदलयात्रा गर्न बाध्य रहेको उहाँले जानकारी दिनुभयो । करिब एक महिनाभित्र बस सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
स्थानीय तहको सहकार्यमा बस सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि हेटौंडा उपमहानगरपालिकाले बजेट अभाव देखाउँदै आइरहेको उहाँले बताउनुभयो । इन्धन, बस चालक र सहचालकको तलबभत्ता स्थानीय तहले उपलब्ध नगराए विद्यालयले आन्तरिक स्रोतबाट व्यहोर्ने उहाँको भनाइ छ । विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत् छन् ।
इन्द्रसरोवर गाउँपालिकामा रहेको सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा पनि मंगलबार बस आइपुगेको छ । बस कलंकीदेखि मार्खुसम्मको रुटमा सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक रामशरण दाहालले जानकारी दिनुभयो । “करिब ३०—३५ जना विद्यार्थी ७ किलोमिटर पैदलयात्रा गर्न बाध्य छन्”, प्रधानाध्यापक दाहालले भन्नुभयो, “विद्यार्थी पूरा घण्टी नपढी बीचैमा बस छुट्छ भन्दै घर जाने गरेका थिए ।” विद्यालयको बस सुविधा भएपछि यस्ता समस्या अन्त्य हुने उहाँको भनाइ छ ।
न्यून आयस्तर भएका समुदायका विद्यार्थी अध्ययनरत् भएकाले पनि स्थानीय तह र विभिन्न संघसंस्थाको सहकार्यमा बस सेवा सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो । वार्षिकरुपमा बस सेवा सञ्चालनका लागि १२ लाख रुपैयाँ खर्च चाहिने अनुमान गरिएको छ । जसमा गाउँपालिकाबाट ६ लाख रुपैयाँ, ढुंगा र माछा व्यवसायी संस्थाबाट थप रकम सहयोग जुटाएर बस सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो । विद्यालयमा करिब २ सय ५० जना विद्यार्थी अध्ययनरत् छन् ।